सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार सूचना जारी गर्दै अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्दा सचेत हुन ग्राहकहरुलाई सचेत गराएको हो ।

सूचनामा डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनका लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

डिजिटल वित्तीय सेवा प्रयोगबाट भुक्तानी गर्दा बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजन लगायतका विवरण यकिन गरेरमात्र कारोबार गर्न अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने जनाएको छ । ‘यस्ता सेवाले आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचत समेत हुने गर्दछ’, सूचनामा उल्लेख छ ।

यद्यपी पछिल्लो समय वित्तीय अपराधका घटना बढ्दो रहेको र चाडवाड नजिकिँदै गर्दा आफ्नो खाताबाट हुने अनलाईन बैंकिङ्गका बारेमा सजग तथा सचेत भई कारोबार गर्न केन्द्रीय बैंकले भनेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ असोज २०८०, मंगलबार १४ : ४२ बजे