अन्तर्राष्ट्रिय व्यापारमा डलर विस्थापित गर्न दुई दशक लाग्ने: पूर्व गर्भनर ‘बैंक अफ जापान’

0
Shares

अन्तराष्ट्रिय व्यापारमा ५० प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको डलरको एकाधिकार तोड्नका लागि दुई दशकको समय लाग्ने जापानको केन्द्रीय बैंक– बैंक अफ जापानका पूर्व गर्भनर हरुहिको कुरोदाले बताएका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका, युरोप तथा अमेरिकाका अलायन्स राष्ट्रहरुले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । अमेरिका र बेलायतले रुसी केन्द्रीय बैंकमा भएको डलरलाई फ्रिज गरेका छन् । जसको प्रतिउत्तरमा रुसले मैत्रीपूर्ण सम्बन्ध नभएका देशहरुलाई रुसी रुबल मै कारोबार गर्न आदेश दिएको छ । यस्तै रुसले चिनियाँ युवानको प्रयोग गरी मित्र राष्ट्रसँग कारोबार गरिरहेको छ । यसरी रुस–युक्रेन युद्धले ग्लोबल फ्रयाग्मेन्टेसन निम्त्याएको छ।

नोटबजारसँगको कुराकानीमा कुरोदाले रुस–युक्रेन युद्धका कारण विश्वका अर्थतन्त्रबीच खण्डीकरण सिर्जना भएको बताएका छन् । अमेरिका, बेलायत लगायतका देशहरु रुसको विरुद्धमा छन् भने चीन, उत्तर कोरिया रुसको पक्षमा उभिएका छन् । अमेरिकाले रुसलाई डलरमा पेट्रोलियम पदार्थको कारोबार गर्न प्रतिबन्ध लगाएता पनि रुसले युवानमा कारोबार गरिरहेको छ ।

डलरको एकाधिकार तोड्न पछिल्लो समयमा चीन, रुस, भारत, ब्राजिल, दक्षिण अफ्रिका, अर्जेन्टीना, इरान, साउदी–अरेबिया लागीपरेका छन् । दक्षिण अफ्रिकाको जुहान्सबर्ग सहरमा आयोजित ब्रिक्स सम्मेलनमा डलरको एकाधिकार तोड्नका लागि रु५ नामक मुद्राको विकास गर्ने योजना बनेको थियो । यस्तै भारतको नयाँदिल्लीमा आयोजीत जी२० देशहरुको सम्मेलनमा साउदी अरेबियाले समेत आफु ब्रिक्स राष्ट्रमा जोडिन चाहेको इच्छा जाहिर गरेको थियो । यसरी वर्तमान अवस्थामा डलरको वर्चस्व तोड्नका लागि केही शक्तिशाली राष्ट्रहरुले तयारी गरिरहेका छन् ।

यसै सन्दर्भमा सोधिएको प्रश्नको प्रतिउत्तरमा कुरोदाले विगतमा युरोको उत्पत्तिको उदाहरण दिँदै मानिसहरुले युरोले डलरसँग प्रतिस्पर्धा गर्ने आकलन गरेको सम्झना गरे । उनी भन्छन्,“सन् १९९९ मा युरो लागु हुँदा युरोले डलरसँग प्रतिस्पर्धा गर्छ भन्ने विश्वास गरिएको थियो । तथापि हाल युरोले अन्तराष्ट्रिय व्यापारको १५ प्रतिशत हिस्सा ओगटेको छ भने डलरको हिस्सा ५८ प्रतिशत छ । ब्रिक्स लगायतका राष्ट्रहरुले डि–डलराइजेसनको अवधारणा अगाडि सारेका छन् तर त्यसका लागि समय लाग्छ ।”

सन् १९७१ मा अन्तराष्ट्रिय मुद्रा कोषले डलर स्ट्याण्र्डड घोषणा गरेको थियो । जसपछि डलर नै अन्तराष्ट्रिय व्यापारमा प्रयोग हुँदै आएको छ । विगत ५२ वर्षदेखि अन्तराष्ट्रिय व्यापारमा एकाधिकार जमाउँदै आएको डलरलाई विस्थापित गर्न सजिलो नहुने उनको तर्क छ ।

तथापि उनी प्रविधिको विकास र हालै सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबिडिसी)को विकासलाई लिएर सकरात्मक र उत्साही देखिएका छन् । सीबिडिसीको विकासले अन्तराष्ट्रिय भुक्तानी प्रणाली सहज बनाउनुका साथै हाल अन्तराष्ट्रिय व्यापारमा रहँदै आएको डलरको बाहुल्यता तोडिने उनको धारणा छ । हाल चीन, भारत, जापान, अष्ट्रेलिया, सिंगापुर लगायतका देशहरुले सीबिडिसीको विकासमा काम गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।