क्रिप्टोकरेन्सी प्रयोग गरी फरारी किन्न सकिने, क्रिप्टोको मार्केटले लय समात्दै

0
Shares

विलासी कार निर्माता फरारीले क्रिप्टोकरेन्सी मार्फत कारहरुको भुक्तानी लिन सुुरु गरेको छ । कम्पनीले यो स्कीम हालका लागि अमेरिकामा लागु गरेको हो ।

अमेरिकामा विस्तार गरेको यो भुक्तानी प्रणाली फरारीले युरोपमा समेत विस्तार गर्ने योजना बनाएको छ। अमेरिकाका धनाढ्य व्यक्तिहरुको आग्रहमा क्रिप्टोकरेन्सीको प्रयोग गरी कारहरु खरिद गर्न मिल्ने व्यवस्था गरेको फरारीका मार्केटिङ तथा कर्मेसियल अफीसर इन्रीको गल्लीराले जनाएका छन् ।

विश्वका अधिकांश देशहरुमा प्रतिबन्धित क्रिप्टोकरेन्सी अमेरिका र युरोपका केही देशहरुमा कारोबारमा आइरहेको छ । तथापि अधिकांश कम्पनीहरुले क्रिप्टोकरेन्सी– बिटकोइनको मूल्यमा देखिने अस्थिरताका कारण भुक्तानीको माध्यम बनाएका छैनन् । केही ब्लुचीप कम्पनीहरुले क्रिप्टोकरेन्सी व्यापारका लागि औपचारिक माध्यम मान्न नसकिने जिकिर गरेका छन् ।

क्रिप्टोकरेन्सीमा कारहरुको खरिद बिक्री सुरु गर्ने पहिलो कम्पनी फरारी भने होइन । यस अघि सन् २०२१ मा विद्युतीय कार निर्माता कम्पनी टेस्लाले बिटकोइन मार्फत कारहरुको खरिद प्रक्रिया अघि सारेको थियो । तथापि त्यसको केही समयपछि टेस्लाका संस्थापक एलन मक्सले पर्यावरणीय कारण देखाउँदै बिटकोइनको प्रयोग बन्द गरेका थिए । बिटकोइनको प्रयोग गरी कार खरिद गर्न मिल्ने टेस्लाको स्कीमले बिटकोइनको मूल्य ह्वात्तै रकेटको शैलीमा बढाएको थियो । जति तीव्र गतिका साथ बिटकोइनको मूल्य आकाशिएको थियो, त्यहि गतिका साथ बिटकोइनको मूल्य घटेको पनि थियो ।

टेस्लाले बिटकोइनको प्रयोगमा प्रतिबन्ध लगाएको केही वर्षमा फरारीले बिटकोइनको प्रयोग सुरु गरेको छ । यससँगै बिटकोइनको मूल्यमा समेत केही सुधार देखिएको छ । आइतबार एक बिटकोइनको मूल्य २६ हजार ८७८ अमेरिकी डलर रहेको छ । यससँगै लगानीकर्ताहरुमा उत्साहका साथै त्रास पनि बढेको छ ।

टेस्लाले जुन कारण देखाएर क्रिप्टोको प्रयोग बन्द गरेको थियो त्यस विषयमा फरारीका मार्केटिङ तथा कर्मेशियल अफीसर इन्रीको गल्लेरीयाले पछिल्लो समयमा क्रिप्टोकरेन्सीहरुमा नयाँ सफ्टवेयर र नवीकरणीय उर्जा स्रोतहरुको प्रयोग बढाएका कारण पर्यावरणमा असर नपुग्ने बताएका छन् । तथापि फरारीले पनि क्रिप्टोको प्रयोगलाई हिट एन्ड ट्रायलको माध्यम मात्रै बनाएको हो वा भावी सम्भावनाहरु देखेर भुक्तानी सुचारु गरेको हो भन्ने प्रश्न लगानीकर्ता तथा विश्लेषकहरुले गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।