चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण शाह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताए । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ ।
रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउने डाक्टर शाहको जिकिर छ । पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुन्छ जसकारण यसले पेटको क्यासरको जोखिम बढाउछ ।

यस्तै प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइट र नाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने र यसले क्यान्सरको जोखिम बढाउने गर्छ । धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउने हुँदा सतर्क रहन शाहले आग्रह गरेका छन् ।
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउछन् । मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने डा.लौडारीले जानकारी दिए ।
मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्ने बताए । नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम बढ्छ । उनले मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन । कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा घट्ने बताए । यस्तै उनले दशैंमा खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिएका छन् ।
वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिएका छन् । दशैंमा रातो मासुभन्दा पनि सेतो मासुमा खाँदा स्वस्थवर्धक हुने उनले बताए । सेतो मासुमा चिल्लोको मात्रा कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि पाचन प्रक्रियामा समस्या नहुने हुँदा सेतो मासु खान डा. भोजराज अधिकारीले सुझाएका छन् । सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उनले बताए ।
छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारीले कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । त्यसो हुँदा एक सय ५० ग्राम खान मिल्ने बताए ।
त्यही फर्मुला रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारीले एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्ने बताए । मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्को एक जनालाई मधुमेह र अर्को एक जनालाई कोलेस्ट्रोल देखिने गरेको जानकारी डा अधिकारीले दिए ।
फ्रिजमा राखेर मासु खान नहुने भन्दै उनले पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर नहुने बताएका छन् । सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उनको सल्लाह छ । मासुसँगै धुम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । त्यसकारण मासु खाएको समयमा फलफूल, सागपात खान चिकित्सकहरुले सुझाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
