डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलको आम्दानीमा गिरावट

0
Shares

नेपालका लागि डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलको सञ्चालन आम्दानीमा गिरावट आएको छ । सन् २०२२ मा ३ अर्ब २७ करोड ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२३ मा घटेर २ अर्ब ६८ करोड ३० लाख पुगेको छ । सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी १८ प्रतिशतले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएता पनि ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा पछिको नाफा बढेको छ । सन् २०२२ मा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको ४.९१ प्रतिशत थियो भने सन् २०२३ मा सो नाफा बढेर ७.५६ प्रतिशत पुगेको हो ।

सन् २००६ मा स्थापना भएको म्याक्स इन्टरनेशनल सूचना प्रविधि (आइटी) क्षेत्रका सामाग्रीहरुको आयात गरी बिक्री वितरण गर्दै आएको छ । सन् २०१७ मा आइएसओ सर्टिफाइड भएको कम्पनीले बिटुबि सेवा समेत प्रदान गर्दै आएको छ । दुई दशकको यात्रामा कम्पनीले एक हजार भन्दा धेरै सामाग्रीहरु नेपाली बजारमा भित्र्याएर बिक्री वितरण गर्दै आएको छ भने २५ अर्जिनल इक्युपमेन्ट म्यानुफ्याक्चररसँग आधिकारिक बिक्रेताको लागि सम्झौता समेत गरिसकेको छ ।

अन्तराष्ट्रिय बजारमा प्रख्यात डेल टेक्नोलोजिज, डेल इएमसी, माइक्रोसफ्ट, लेनोभो, ओराकल, सिस्को लगायतका विभिन्न ब्रान्डसँग कम्पनीले आधिकारिक बिक्रेताका लागि सम्झौता गरेको कम्पनीले जनाएको छ । आइटी क्षेत्रमा २० वर्ष लामो अनुभव बटुलेकी साहिना हुस्सेन कम्पनीकी संस्थापक हुन् । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुस्सेन रहेका छन् ।

कम्पनीले १ अर्ब ७३ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २ करोड ८६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल प्लस र १ अर्ब ७० करोड १३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको हो । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.२५ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।