राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले मंसिर २१ गतेदेखि जिम्मेवार व्यवसाय सम्मेलन (रेस्पोन्सिबल बिजनेस समिट)को चौथो संस्करण आयोजना गर्ने भएको छ। काठमाडौंको हायात रिजेन्सी होटलमा मङ्सिर २१ र २२ गते दुई दिन आयोजना हुने सम्मेलनमा नेपालसहित पाँच मुलुकका ३० वक्ताले प्रस्तुती दिनेछन् ।
२०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करणको थिम उदीयमान व्यापार वास्तविकताहरूमा अनुकूलन ९एडप्टिङ टू इमर्जिङ बिजनेस रियालिटिज० भन्ने रहेको छ ।
सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा अन्तक्रिया हुने एनबीआई अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए ।
अध्यक्ष जोशीका अनुसार समाज, वातावरण तथा अर्थतन्त्र गरी तीन विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत गहन छलफल गरिनेछ । समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् ।
वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहने उल्लेख छ ।
त्यसैगरी, अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् ।
कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहने जनाइएको छ । ३० भन्दा बढी वक्ताहरु रहने यस कार्यक्रममा ३ सयभन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहने आयोजक एनबीआईले जनाएको छ ।
“विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले हाम्रो सम्मेलन अझ बढी सान्दर्भिक हुने ठान्दछौं,” अध्यक्ष जोशीले भने ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहकार्य रहने जनाइएको छ। कोभिड महामारी र विश्वव्यापी आर्थिक संकटका कारण सम्मेलन एक वर्ष ढिलो सञ्चालन हुन लागेको बताइएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया