एबिसी आयलको आम्दानी २ अर्ब बढी, ७४ प्रतिशत कारोबार भारत केन्द्रीत

0
Shares

एबिसी आयल इन्डष्ट्रिज प्रालिले स्थापनाको छोटो समयमा नै २ अर्ब १२ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा स्थापना भएको कम्पनी सन् २०२२ को मे महिनाबाट सञ्चालनमा आएको हो । सञ्चालनमा आएको वर्षमा नै कम्पनीले २३ करोड ७० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०२३ मा २ अर्ब १२ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ । यसरी एक वर्षको अन्तरालमा कम्पनीको सञ्चालन आम्दानी ७९७ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांक समेत बलियो देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२३ मा कुल सञ्चालन आम्दानीको ७.६१ प्रतिशत रहेको छ । जुन गत वर्ष ४.४४ प्रतिशत थियो ।

सुनसरी जिल्लाको दुहाबी सहरमा कम्पनीको प्लान्ट जडान गरिएको छ । कम्पनीको कुल उत्पादन क्षमता १२ हजार मेट्रिक टन प्रति वर्ष रहेको छ । जसअन्तर्गत पाम आयल प्रशोधन गर्ने क्षमता ३६ हजार मेट्रिक टन रहेको छ भने सोयाबिन र सनफलावर आयल प्रशोधन गर्न सक्ने क्षमता १२/१२ हजार मेट्रिक टन रहेको छ।

कम्पनीले ठूलो मात्रामा पाम आयल प्रशोधन गरी भारत निर्यात गर्ने गरेको छ । आव २०२३ को कुल आम्दानीमा भारतबाट भएको आम्दानीको हिस्सा ७४ प्रतिशत रहेको छ । कम्पनीको प्लान्ट भारतको जोगबनीबाट करिब १३ किलोमिटरको दूरीमा रहँदा कम्पनीलाई भारतसँग व्यापार बढाउन सहज भइरहेको थियो । पछिल्लो समयमा भारतले पाल्मोलीन तथा पाम आयलको खरिदमा कडाइ गरिरहेको छ । जसकारण कम्पनीले नेपालमै आफ्नो उत्पादनलाई बजारीकरण गरिरहेको छ ।

कम्पनीले ९९ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २६ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ७३ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

नेपाल बार काउन्सिलमा अधिवक्ता समेत रहेका सन्जय कोइरालाको कम्पनीमा लगानी रहेको छ । औद्योगिक क्षेत्रमा करिब २० वर्ष लामो अनुभव बटुलेका उनी कम्पनीका अध्यक्ष हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।