युनिलिभरले पारित गर्यो प्रतिसेयर १ हजार ५८० रुपैयाँ लाभांश वितरणको प्रस्ताव


नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश वितरणको प्रस्ताव गरेको युनिलिभर नेपाल लिमिटेडले मङ्सिर २६ गते मंगलबार ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको यस कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १२ गते मंगलबारदेखि २६ गतेसम्म बुकक्लोज मिति तोकेको थियो । बुकक्लोजको आधारमा मङ्सिर ११ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।

लाभांश प्रतिफल र कर पछिको नाफा १ अर्ब ८३ करोड ४० लाख पु¥याएको कम्पनीले गत आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले नाफा बढाएको हो ।

साधारण सभामा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको जानकारी गराएका थिए । विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने सम्भावना रहेको बताउँदै उनले अबको यात्रा कठिन हुन सक्ने बताए । उक्त अवस्थाको लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुने उनको विश्वास थियो ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १ अबै ८३ करोड ४० लाख पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताएका थिए । आफ्ना उत्पादनको स्थानीयकरणमा गरिएका प्रयास, प्रभावकारितामार्फत् आर्जन भएको उनको भनाई थियो ।

युनिलिभर नेपाल लिमिटेडमा ८५ प्रतिशत संस्थापक सेयरधनीहरु छन् भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।