चार अर्ब कर्जा रेटिङ गराएको सीजी इम्पेक्सको रेटिङ घट्यो

0
Shares

चौधरी ग्रुपद्धारा सञ्चालित सीजी इम्पेक्स प्रालिले कर्जा समीक्षाका लागि आवश्यक पर्ने वित्तीय विवरण पेस नगरेपछि रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ घटाएको छ।

सन् २०२२ को अप्रिल महिनामा ३ अर्ब ९२ करोड बराबरको अलपकालीन कर्जाका लागि रेटिङ गराएको कम्पनीले कर्जासम्बन्धी विवरण रेटिङ एजेन्सीलाई नबुझाएको पाइएको छ । यसअघि इक्रानेपालले ३ अर्ब ९२ करोड बराबरको कर्जाका लागि ए३ प्लस रेटिङ गरेको थियो । हाल उक्त रेटिङ ए४ प्लसमा घटुवा गरेको छ ।

इक्रानेपालले पटकपटक कम्पनीलाई सम्पर्क गर्न खोजेता पनि कम्पनीबाट कुनै प्रतिक्रिया नआएपछि एजेन्सीले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’ को सूचीमा राख्दै रेटिङ वीथड्रल गर्ने जनाएको छ ।

सन् २००४ मा स्थापना भएको कम्पनीले सुरुवाती चरणमा ‘एलजी’ कम्पनीका विद्युतीय तथा घरायसी सामाग्रीहरुको आयात गरी बिक्री वितरण गथ्र्यो । स्थापनाकालमा कम्पनी ‘एलजी’ ब्रान्डको आधिकारिक बिक्रेता समेत रहेको थियो ।

बिस्तारै कम्पनीले बजारमा आफूलाई स्थापित गरेसँगै ब्याल्याक एन्ड डेकोर, पिजन, केन्ट, मिडिय, सेन्सेइ ब्रान्डका भ्याकुम क्लिनर, आइरन, हिटर, फ्यान लगायतका सामाग्रीको आयात गरी बिक्री वितरण गर्ने गरेको छ ।

पछिल्लो समयमा कम्पनीले सीजी ब्रान्डका सामाग्रीको बिक्री वितरण समेत गर्दै आएको छ । कम्पनीमा विनोद चौधरीका दुई छोरा निर्वाण चौधरीको ८५ प्रतिशत र वरुण चौधरीको १५ प्रतिशत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।