साढे ९३ करोड लगानीमा काठमाडौंमा चार तारे ‘आर्य होटल एन्ड स्पा’ निर्माण हुँदै

साढे ९३ करोड लगानीमा काठमाडौंमा चार तारे ‘आर्य होटल एन्ड स्पा’ निर्माण हुँदै

काठमाडौंको ठमेल क्षेत्रमा ९३ करोड ६० लाख लगानीमा 'आर्य होटल एन्ड स्पा' निर्माण भइरहेको छ । अत्याधुनिक सेवा युक्त सो होटल सन् २०२४ को जुन महिनाबाट सञ्चालनमा आउने छ ।

सन् २०१८ देखि निर्माणाधीन उक्त होटलको सन् २०२३ को अक्टोबरसम्म ७० प्रतिशत भौतिक निर्माण र ६७ प्रतिशत वित्तीय प्रक्रिया सम्पन्न भएको छ । सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण होटलको निर्माण कार्य सुस्त भएको थियो ।

कुल ६१४.८८ वर्ग मिटरमा निर्माण भएको आर्य होटल एन्ड स्पामा कुल ८० वटा कोठा रहेका छन् । होटलमा फुड एन्ड वेभरेज सुविधा उपलब्ध हुनुका साथै स्वीमिङ पूल, कन्फेरेन्स हल, हिटेड जाकुजी र अन्य सुविधाहरु उपलब्ध हुनेछन् ।

कम्पनीले होटल निर्माणका लागि ७५ करोड कर्जा लिने भएको छ । रेटिङ एजेन्सी केयर नेपालले ७२ करोड २६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र २ करोड ७४ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

होटलमा कृष्णप्रसाद सिमखडाको एकल लगानी रहेको छ । २० वर्षदेखि हस्पिटालिटी क्षेत्रमा अनुभव लिएका र जापानमा १४ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेका सिमखडाले नेपालमा आर्य होटल एन्ड स्पा सञ्चालन गर्ने भएका हुन् ।

काठमाडौंमा पछिल्लो समयमा प्रिमियम होटल निर्माणको श्रृङ्खला बढ्दै गएको छ । जसकारण होटलहरुमा प्रतिस्पर्धा समेत बढेको छ । प्रिमियम होटलहरु बीचको बढ्दो प्रतिस्पर्धाले आर्य होटल एन्ड स्पाले अपनाउने रणनीतिमा नै होटलको भविष्य निर्भर छ । होटलमा लगानी गरिएको प्रतिफल ढिलो उठ्ने भएका कारण होटल दीर्घकालसम्म सञ्चालन हुन्छ वा हुँदैन भन्ने मै प्रश्नहरु उठेका छन् ।

तथापि ठमेल क्षेत्रमा होटल अवस्थित छ । पर्यटकहरुको आवतजावत ठमेल क्षेत्रमा नै हुने भएकाले होटलले दीर्घकालसम्म सञ्चालनमा रहने विश्वास गर्न सकिन्छ । साथै नेपाल सरकारले समेत पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ठूलो रकम विनियोजन गरेको छ । पछिल्लो समयमा नेपालमा बाह्य पर्यटकहरुको सङ्ख्या समेत बढ्दै गएको छ । जुन दर्घिकालमा आर्य होटल एन्ड स्पाका लागि सुखद हुने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार १५ : ५९ बजे