ब्याजदर घट्दो ट्रेण्डमा हुँदा पनि किन बढ्यो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ?

0
Shares

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाई रहेको अवस्थामा पनि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट भने बढेको छ । सोमबार निष्कासन भएको २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट एक प्रतिशत विन्दु भन्दा धेरैले बढेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत नीतिगत दरहरु घटाइ बैंक दर ७, नीतिगत दर ५.५ र निक्षेप संकलन रेट ३ प्रतिशत कायम गर्यो । केन्द्रीय बैंकले नीतिगतदरहरु घटाएसंगै बैंक तथा वित्तीय संस्थाले पनि पुस महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको पुस महिनाका निक्षेपको औसत ब्याजदर ८.५४ प्रतिशत रहेको छ । बैंकहरुको मंसिर महिनाको निक्षेपको औसत ब्याजदर ९.६१ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८.३४ प्रतिशत रहेको छ । बैंकहरुमा निक्षेप थपिने क्रम पनि बढीरहेको अवस्थामा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट भने बढेको छ । पछिल्लो समयमा केन्द्रीय बैंकले ६२ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिचेको छ । केन्द्रीय बैंकले तरलता खिचेसंगै वित्तीय प्रणालीमा नगदको अवस्था कसिलो भएसंगै सोमबारको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढेको हो । केन्द्रीय बैंकका अनुसार सोमबार वित्तीय प्रणलीमा करिब २१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।

सोमबार केन्द्रीय बैंकले सरकारले लिएको आन्तरिक ऋणको नवीकरण गर्नका लागि ट्रेजरी बिल्स जारी गरेको थियो । त्यसमध्ये सरकारले ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीको सावाँ फिर्ता गरेको छ । तर, सरकारका लागि केन्द्रीय बैंकले २८ दिने र १८२ दिने ट्रेजरीको भने डिस्काउन्ट रेट बढेर नवीकरण गरेको छ ।

सोमबार नविकरण भएका दुबै प्रकारका ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढेको छ । केन्द्रीय बैंकका अनुसार २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट करिब एक प्रतिशत विन्दुले बढेर २.४९५६ प्रतिशत पुगेको छ । त्यसैगरी १८२ दिने ट्रेजरीको डिस्काउन्ट रेट सामान्य बढेर ३.८४६० पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

सोमबार नवीकरण भएको ८ अर्ब रुपैयाँ बरावरको ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट २ं४९५६ कायम भएको छ । यसभन्दा अघि गत मंसिर १२ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट १.७५३५ प्रतिशत थियो।

त्यसैगरी सोमबार निष्कासन भएको ६ अर्ब ३३ करोड रुपैयाँ बरावरको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.८४६० प्रतिशत कायम भएको छ । यसभन्दा अघि मंसिर २६ गते निष्कासन भएको १८२ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ३.७६९७ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी केन्द्रीय बैंकले अल्पकालिन ब्याजदरलाई करीडोर अन्तर्गत कायम गर्नका लागि मंगलबार १० अर्ब रुपैयाँ बराबरको १४ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । वित्तीय प्रणालीको तरलता खिच्दै केन्द्रीय बैंकले ब्याजदर करीडोरको सीमा अनुसार अन्तर बैंक दर कायम गर्ने प्रयास गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।