चीनले अनलाइन खर्चको सीमा तोकेपछि गेमिङ कम्पनीहरुले गुमाए ८० अर्ब डलर

0
Shares

चीनले अनलाइन गेमिङलाई नियन्त्रण गर्ने उद्देश्यले नयाँ नीतिहरु लागू गरेको छ । नयाँ नीतिको ड्राफ्टमा चीनले अनलाइन गेमिङमा खर्च गर्ने रकमको सीमा तोक्ने र रिवार्ड दिन नपाइने सर्त राखेको छ ।

पछिल्लो समयमा चीनमा अनलाइन गेमिङ संस्कृतिका रुपमा विकास हुँदै गएको छ। अनलाइन गेमिङप्रति चिनियाँ युवाहरुको आकर्षण बढ्दो थियो । कम्पनीहरुले गेमरहरुलाई अल्झाई राख्न विभिन्न रिवार्डहरु दिने समेत गरेका थिए । दिनदिनै गेम लगइन गर्नेहरुका लागि कम्पनीले रिवार्ड दिने, पैसा खर्चेर गिफ्ट दिने लगायतका तरिकाहरु गेमिङ कम्पनीहरुले अपनाउँदै आएका थिए । अनलाइन गेमिङ विस्तारका लागि ठूला कम्पनीहरुले लगानी गरिरहेका छन् ।

चीनले अघि सारेको ड्राफ्ट पछि दुई ठूला गेमिङ कम्पनीहरुले ८० अर्ब अमेरिकी डलर गुमाएका छन् । अनलाइन गेमिङ नियन्त्रण गर्नेक्रममा चीनले ड्राफ्ट गरेको नयाँ नीतिका कारण विश्वको सबैभन्दा ठूलो टेन्सेन्ट होल्डिङ्सको सेयर १६ प्रतिशतले घटेको छ । यस्तै टेन्सेन्टको राइबल कम्पनी नेटइजको सेयर २५ प्रतिशतले ओरालो लागेको हो । यस्तै टेक इन्भेष्टर प्रोसुसको सेयर मूल्य १४.२ प्रतिशतले घटेको हो ।

चीनमा गेमिङको मार्केट हिस्सा ३०३ अर्ब युवान अर्थात् ४२ अर्ब ६० करोड अमेरिकी डलरको छ । नेशनल प्रेस एन्ड पब्लिकेसन एडमिनिस्ट्रेसनले हाल अनलाइन गेमिङलाई लक्षित गरी बनाइएको नयाँ नीतिलाई लिएर आम मानिसहरुको टिप्पणी संकलन गरिरहेको छ । यो नीति प्रति सम्पूर्ण गेमिङ क्षेत्रले सहमति जनाउने आशा गरिएको छ भने आगामी ६० दिनभित्रमा नीति पारित हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।