डेडिकेटेड र ट्रंकलाइनको बक्यौताको तथ्याङ्क प्राधिकरणसंगै छैन

0
Shares

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा बक्यौता असुली भन्दै बिल पठाएपछि उद्योगी/व्यवसायीहरुले चर्को विरोध गरेका छन् । प्राधिकरणले विना कुनै प्रमाण/तथ्याङ्क बक्यौता असुली भन्दै विल पठाएपछि उद्योगीले विरोध गरेका हुन ।

प्रधिकरणले उद्योगहरुलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुली गर्न बिल पठाएको छ भने मकवानपुर र सुनसरी जिल्ला अदालतलाई उद्योगहरुको बक्यौताको तथ्याङ्क नभएको जवाफ दिएको छ ।

प्राधिकरणले अदालतमा दिएको पत्र र उद्योगमा पठाएको बक्यौता भुक्तानीको बिल आफैमा बाझिाएको हो । प्राधिकरणले पछिल्लो समयमा उद्योगी व्यवसायीसँग डेडिकेटेड र ट्रंकलाइनको बक्यौता भन्दै विना कुनै तथ्याङक बिल कसरी पठाउन सक्छ भन्ने प्रश्न उद्योगीको छ ।

प्राधिकरणले नै २०८० भदौ २४ गते मकवानपुर र असोज ११ गते सुनसरी जिल्ला अदालतलाई पत्र लेख्दै टाइम अफ डे(टिओडी) मिटरको नयाँ डाटाले पुरानो डाटालाई प्रतिस्थापन गर्ने भएकाले उक्त अवधिको डाउनलोड डाटा उपलब्ध गराउन नसकिने जावाफ दिएको छ ।

प्राधिकरणलाई मकवानपुर जिल्ला अदालतले २०८० साउन ३० गते र सुनसरी जिल्ला अदालतले २०८० भदौ १३ गते बक्यौता तथ्याङकको माग गर्दै पत्र काटेको थियो । प्राधिकरणले विना प्रमाण बक्यौता असुलीको बिल पठाएपछि शिवम् सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जिल्लाको अदालतामा मुद्दा हालेका थिए ।

प्राधिकरणले आफूसँग टिओडी मिटरको रेकर्ड रहेको सार्वजनिक अभिव्यक्ति दिए पनि अदालतलाई जवाफ दिने क्रममा आफूसँग कुनै रेकर्ड नरहेको पत्र पठाएको हो ।

विद्युत् वितरण नियमावली, २०६९ मा टिओडी मिटर जडान भएका ग्राहकको प्राविधिक कारणले गर्दा मिटरले वास्तविक खपत नदेखाई बिलिङ छुट भए त्यस्तो छुट खपत युनिट र डिमान्ड चार्जबापत मिटरको डाउनलोड डाटा विश्लेषण गर्दा यकिन भएअनुसारको रकम छुट बिल गरिने व्यवस्था छ ।

प्राधिरणले बुधबार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सम्बन्धी जानकारी दिने पत्रकार सम्मेलन आयोजना गरेको थियो । जिल्ला अदालतहरुमा पठाएको पत्र सर्वाजनिक भएपछि प्राधिकरणले उक्त पत्रकार सम्मलेन पनि स्थगित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।