ऋण असुली न्याधिकरणले चालु आर्थिक वर्षको मंसिरसम्ममा अर्थात पाँच महिनामा ४० करोड ६५ लाख रुपैयाँ थप असुली गरेको छ । न्याधिकरणले मिलापत्र तथा फैसला कार्यान्वयन गरी असुली गरेको हो ।
न्याधिकरणले चालु आवको पाँच महिनामा ७ करोड ५५ लाख रुपैयाँ ऋण मिलापत्र मार्फत उठाएको छ । त्यसैगरी फैसला कार्यान्वयन मार्फत भने ३३ करोड ९ लाख रुपैयाँ ऋण असुल गरेको न्याधिकरणले जनाएको छ । तर, चालु आर्थिक वर्षको पाचौ महिना मंसिरमा भने मिलापत्र मार्फत असुली नभएको न्याधिकरणले जनाएको छ ।
न्यायाधिकरणले बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाहरु छिटो छरितो ढङ्गबाट कारबाही र किनारा गरी ऋणीबाट लिनु पर्ने साँवा ब्याज असुल गर्ने काम गर्छ । न्याधिकरण बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ अनुसार स्थापना भएको हो । बैंक तथा वित्तीय संस्थाको ५ लाख रुपैयाँ भन्दा धेरै सावाँ रकम तिर्न बाँकी भएको निवेदन उपर मात्र कारबाही गर्छ ।
बैंक तथा वित्तीय संस्थाले प्रयाप्त प्रयास गर्दा पनि कर्जा असुली हुन नसकेमा कर्जाको असुलीको लागि भाखा नाघेको मितिले ४ वर्ष भित्र मुद्दा दर्ता गराउनु पर्छ । बैंक वित्तीय संस्थाले दायर गरेको मुद्दा उपर मिलापत्र गराउने तथा फैसला गरेर कर्जा असुली गराइदिने काम न्यायाधिकरणले गर्छ। बैंक तथा वित्तीय संस्थाले दावी गरेको रकमको ०.२५ प्रतिशतले हुन आउने रकम शुल्क वापत न्याधिकरणलाई अग्रीम बुझाउनु पर्छ ।
बैंक तथा वित्तयि संस्थाले चालु आर्थिक वर्षको मंसिरसम्ममा एक सय ८४ वटा मुद्दा न्यायाधिकरणमा दर्ता गराएका छन् । सो मध्ये ८ मुद्दालाई मिलापत्र मार्फत सेटल गरेको छ भने एक सय ३० वटा मुद्दाको निर्णय गरी ऋण असुली गरेको छ ।
मंसिर महिनामा मात्र २० वटा मुद्दाको निर्णय भएको छ । यो महिनामा मिलापत्र मार्फत कुनै पनि मुद्दा सेटल भएको छैन । त्यसैगरी न्यायाधिकरणमा फैसला कार्यान्वयनका लागि एक सय १४ वटा मुद्दा परेका छन । सो मध्ये २३ मुद्दाको लागत कट्टा गरेको न्यायाधिकरणले जनाएको छ ।
हालसम्म न्याधिकरणमा ५ सय १९ मुद्दा परेका छन भने ३८१ मुद्दाको निर्णय हुन बाँकी छ । त्यसैगरी हालसम्म ४५३ वटा फैसला कार्यान्वयनका मु्द्दा परेकोमा ४ सय ३० वटा बाँकी रहेको न्याधिकरणले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले उठाउन नसकेको कर्जा न्यायाधिकरणले हालसम्ममा ३४ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बरावरको ऋण असुली गरेको छ। न्याधिकरणले गत वर्षसम्ममा ३४ अर्ब २६ करोड १३ लाख रुपौयँ असुली गरेको थियो । यो वर्षको पाँच महिनाको ४० करोड ६५ लाख सहीत न्यायाधिरकणले हालसम्म ३४ अर्ब ६६ करोड असुली रकम पु्रयाएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया