२० अर्बको ट्रेजरी बिल्समा तीन गुणा आवेदन, डिस्काउन्ट रेट सामान्य बढ्यो

0
Shares

सरकारले आन्तरिक ऋण भुक्तानी नगर्ने भएपछि नबिकरणका लागि सोमबार निष्कासन भएको २० अर्ब २५ करोडको ट्रेजरी बिल्सका लागि करिब तीन गुणा धेरै आवेदन परेको छ । उक्त ट्रेजरीका लागि ५८ अर्ब ६९ करोड रुपैयाँ बरावरको माग आवेदन परेको हो ।

सरकारका लागि केन्द्रीय बैंकले जारी गरेको उक्त ट्रेजरीको परिपक्क हुने अवधि भने फरक फरक छ । सोमबारको निष्कासन भएको ट्रेजरी मध्ये ७ अर्ब ७५ करोड बरावरको ९१ दिने, ५ अर्ब बरावरको १८२ दिने र ७ अर्ब ५० करोड रुपैयाँ बरावरको ३६४ दिने रहेको छ। यी तीनै प्रकारका ट्रेजरी बिल्सका लागि अधिक माग भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा ट्रेजरीको बिल्सको डिस्काउन्ट रेट पनि घटेर २ प्रतिशत भन्दा तल झरेको थियो । तर, पछिल्लो समयमा केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत तरलता खिचेपछि ट्रेजरीको डिस्काउन्ट रेट सामान्य बढेको छ ।

सोमबार निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.४०३१ प्रतिशत रहेको छ । उक्त ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले अधिक ३.४९०२ र न्यूनतम ३.१२१४ प्रतिशत बोल गरेका थिए । यसभन्दा अघि पुस ११ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.३४१० प्रतिशत रहेको थियो ।

त्यसैगरी सोमबार नविकरण भएको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.९४०३ प्रतिशत कायम भएको छ । बैंक वित्तीय संस्थाले उक्त ट्रेजरीका लागि अधिकतम ४.१७०० र न्यूनतम ३.५४९९ प्रतिशत बोल गरेका थिए । यस भन्दा अघि पुस ३ गते निष्काशन भएको सोही अवधिको ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.८४६० प्रतिशत थियो ।

त्यसैगरी सोमबार नविकरण भएको ३६४२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.४४५२ प्रतिशत कायम भएको छ । बैंक वित्तीय संस्थाले उक्त ट्रेजरीका लागि अधिकतम ४.६४७५ र न्यूनतम ४ प्रतिशत बोल गरेका थिए । यस भन्दा अघि पुस ११ गते निष्कासन भएको सोही अवधिको ट्रेजरीको औसत डिस्काउन्ट रेट ४.१४८९ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।