गोल्छा ग्रुपको नियोटेरिक नेपालको कारोबार ३० प्रतिशतले घट्यो

0
Shares

व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको नियोटेरिक नेपाल प्रालिको सञ्चालन आम्दानीमा भारी गिरावट आएको छ ।

आर्थिक वर्ष २०२२ मा ५ अर्ब ६२ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०२३ मा ३ अर्ब ९२ करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ। आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको सञ्चालन आम्दानी ३०.२५ प्रतिशतले घटेको हो ।

पछिल्लो समयमा देशमा देखिएको मन्दीका कारण मानिसहरुको क्रयशक्ति कमजोर हुँदा इलेक्ट्रोनिक सामाग्री जस्तै ल्यापटप, कम्प्यूटरको मागमा कमी आएको छ। कोभिडको समयमा सञ्चालनमा आएका भर्चुअल कक्षाहरु बन्द गरी मानिसहरुले भौतिक उपस्थितिमै कामहरु सुरु गरेपछि कम्पनीको आम्दानी घट्दै गएको छ ।

सन् २००४ मा स्थापना भएको कम्पनीले नोकिया कम्पनीको आधिकारिक बिक्रेता रहेको छ । पछिल्लो समयमा कम्पनी डेलको आधिकारिक बिक्रेता समेत रहेको छ। हाल कम्पनी कुल ३० विभिन्न ब्रान्डका १ हजार बढी उत्पादनहरु बिक्री वितरण गरिरहेको छ । कम्पनीले डेल टेक्नोलोलिज, डेल इएमसी, नोकिया, हिकभिजन, लोजीटेक, पिपललिंक, एसएपी, एजुज, हेयर, माइक्रोटेक्स लगायतका ब्रान्डहरुका उत्पादन आयात गरि बिक्री वितरण गरिरहेको छ।

यसका साथै कम्पनीले टेलिकम तथा ब्रोन्डब्यान्ड इन्टरनेट सर्भिस प्रोभाइडरहरुलाई आवश्यक पर्ने सामाग्री बिक्री गर्दै आएको छ । देशभर कम्पनीका ५ सोरुमहरु रहेका छन् । यी शोरुम मार्फत कम्पनीले कम्प्यूटर तथा इलेक्ट्रोनिक्स सामाग्री, सर्भिलेन्स तथा भिडियो कन्फेरेन्सीङ सामाग्री र सफ्टवेयर सोलुसनको बिक्री गर्दै आएको छ ।

नियोटेरिक नेपालमा गोल्छा ग्रुपको लगानी रहेको छ । सञ्जय गोल्छा कम्पनीका अध्यक्ष रहेका छन् र उनकै नेतृत्वमा कम्पनी सञ्चालन हुँदै आएको छ।

कम्पनीले ३ अर्ब ४० करोड ४८ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ४८ लाख २० हजार बराबरको कर्जाका लागि डबल बी प्लस र ३ अर्ब ४० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।