अन्तर बैंकदर करिडोर भित्र आएपछि विकास ऋणपत्रको ‘कट अफ रेट’ बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीको तरलता खिचेसंगै विकास ऋणपत्रको ‘कटअफ रेट’ बढाउन परेको छ। बैंकिङ प्रणालीमा तरलता कम भएपछि ब्याजदर वृद्धि गरी विकास ऋण उठाइएको हो ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी तथा तरलता व्यवस्थापनका लागि निरन्तर निक्षेप संकलन उपकरण जारी गरेपछि अन्तर बैंक दर बढ्यो । खासमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण तरलता व्यवस्थापन तथा ब्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रण गर्न लागि प्रयोग गर्छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको खण्डमा अन्तर बैंकदर घट्छ भने कसिलो अवस्थामा अन्तर बैंक दर बढ्छ ।

अन्तर बैंक दर निक्षेप संकलन दर ३ प्रतिशत भन्दा तल गएको खण्डमा निक्षेप संकलन मार्फत अन्तर बैंक दर बढाउछ । त्यसैगरी अन्तर बैंक दर बैंक दर(७ प्रतिशत) भन्दा माथि गएको खण्डमा बजारमा तरलता प्रबाह गरेर अन्तर बैंक दर घटाउने काम केन्द्रीय बैंकले गर्छ ।

पछिल्लो समयमा अन्तर बैंक दर निक्षेप संकलन दर भन्दा न्यून भएपछि केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिच्यो । वित्तीय प्रणलीको करिब एक खर्ब १० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएसंगै अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमामा आइपुगेको छ ।

अन्तर बैंक दर करिडोरको तल्लो सीमा कायम भएसंगै डेभलपमेन्ट वण्डको कटअफ रेट समेत बढेको हो । वित्तीय प्रणालीमा तरलता कम भएसंगै बैंकहरुले लगानी गर्ने विकास ऋणपत्र तथा ट्रेजरी बिल्समा धेरै ब्याजदर माग गर्दै आवेदन दिन्छ । त्यसका साथै प्रतिस्पर्धा पनि कम हुने भएकाले केन्द्रीय बैंक सरकारी ऋण उठाउनका लागि ब्याजदर बढाएर भएपनि यी उपकरणहरु बिक्री गर्नु पर्ने अवस्था आउछ । त्यसले गर्दा पनि ब्याजदर बढ्न जान्छ ।

आइतबार केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँ बरावरको ८ वर्षे विकास ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाले २९ अर्ब ८५ करोड रुपैयाँ बरावरको बोल आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ ।

आइतबारको विकास ऋणपत्रको कटअफ रेट ५.९६ प्रतिशत कायम भएको छ । यो रेट यसभन्दा अघि पुस ५ गते निष्कासन भएको विकास ऋणपत्रको भन्दा धेरै हो । पुस ५ गते निष्काशन भएको विकास ऋणपत्रको कट अफ रेट ५.५६ प्रतिशत कायम भएको थियो । विकास ऋणपत्रको कटअफ रेट पनि वित्तीय प्रणालीको तरलतामा भर पर्ने भएकाले तलमाथि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।