मिनी आईपीओ बन्दै माथिल्लो तामाकोशीको लिलामी सेयर


अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा राखेको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरमा आवेदकहरुको चाप देखिने भएको छ । दोस्रो बजार क्रमिक रुपमा बढिरहेका बेला तामाकोशीको लिलाममा राखिएको सेयरमा धेरै आवेदन पर्ने बिक्री प्रबन्धकको अनुमान छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीमा राखेको छ । लिलामीको म्याद सकिने समय नजिकिँदै गर्दा तोकिएका केन्द्रहरुमा आवेदन फारम लिनेको भिड बढ्न थालेको कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

बानेश्वरस्थित सनराइज लक्ष्मी क्यापिटलको कार्यालय तथा कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषको कार्यालयमा आवेदन फारम लिनेहरुको भिड लागेसँगै लगानीकर्ताहरुमा तामाकोशीको लिलामी सेयर मिनी आईपिओ बनेको चर्चा हुन थालेको छ । क्यापिटलका अनुसार पहिलो चरणमा १० हजार फारम प्रिन्ट गरिएकोमा फारम माग्नेको संख्या बढेपछि थप ५ हजार फारम प्रिन्ट गरिएको क्यापिटलले जनाएको छ ।

कुल १५ हजार प्रति फारम प्रिन्ट गरिएको र सबै फारम लगानीकर्ताले लैजान सक्ने क्यापिटलको अनुमान छ । यस्तो अवस्थामा कम्तीमा पनि १२ हजार आवेदन आउने अनुमान क्यापिटलको छ ।

न्यूनतम प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । उक्त लिलामीमा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

लिलाममा राखिएको सेयरमा पुस २९ गते आइतबारसम्म नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौबाट आवेदन दिन सकिने छ । यस्तै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको प्रधान कार्यालय नयाँ बानेश्वर तथा कमलपोखरी, र लक्ष्मी सनराइज बैंक लिमिटेडका बिराटनगर, बीरगञ्ज, धरान, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र चरिकोट शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।