यती कार्पेटको कारोबार बढ्दा आम्दानी ५२ प्रतिशतले बढ्यो

0
Shares

कारोबारमा भएको वृद्धिका कारण यती कार्पेटको सञ्चालन आम्दानी आकर्षक रुपमा बढेको छ । आर्थिक वर्ष २०२२ मा ३० करोड ४० लाख सञ्चालन आम्दानी गरेकोमा २०२३ मा ५२.३० प्रतिशतले बढेर ४६ करोड ३० लाख पुगेको हो ।

व्यापारिक घराना केडिया ग्रुप र रिलायन्स ग्रुपको संयुक्त लगानीमा स्थापना भएको यती कार्पेट प्रालिको आम्दानीमा वृद्धि हुँदा अन्य वित्तीय सूचकांकमा समेत सकारात्मक परिवर्तन आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२२ मा कुल सञ्चालन आम्दानीको २०.४ प्रतिशत थियो भने २०२३ मा सो नाफा २२.७ प्रतिशत पुगेको हो ।

पछिल्ला केही वर्षयता नेपाल कार्पेट उद्योगमा आत्मनिर्भर भएको छ भने ठूलो मात्रामा कार्पेटहर निर्यात समेत हुँदै आएको छ । औद्योगिक रुपमा कार्पेट उत्पादन गरी निर्यात गर्ने कम्पनीहरुमा यती कार्पेटको नाम अगाडि आउने गर्छ । कम्पनीले यती ब्रान्डनामबाट नै कार्पेटहरुको बिक्री वितरण गर्दै आएको छ ।

सन् २०१८ मा यती फ्याब्रिक्स प्रालिलाई अधिग्रहण गरी यती कार्पेट प्रालिको स्थापना भएको हो । जसमा केडिया ग्रुपले ५० प्रतिशत र रिलायन्स ग्रुपको ५० प्रतिशत लगानी रहेको छ । कम्पनीले फाइबर र र्यान आयात गरी नन–उभन तथा टफ्टेड कार्पेटहरुको उत्पादन गर्छ ।

कम्पनीको फ्याक्ट्री वीरगंजमा अवस्थित छ । कम्पनीमा अनिल कुमार केडियाको सेयर हिस्सा २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको १३ प्रतिशत तथा लोकेश तोडीको १३ प्रतिशत सेयर हिस्सा रहेको छ ।

कुल ५७ करोड ४९ लाख बराबरको कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ४४ करोड ९९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र १२ करोड ५० लाख बराबरको कर्जाका लागि ए४ रेटिङ पुनपुष्टि गरेको छ ।

कम्पनीको उपलब्ध वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।