६ महिनामा २२ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, पुसमा १ अर्ब ७२ करोड

0
Shares

चालु आर्थिक वर्षको ६ महिनामा २ सय २६ वटा उद्योगका लागि वैदेशिक लगानी स्वीकृत भएको छ ।उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा २२६ वटा उद्योगका लागि २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

६ महिनाको अवधिमा साना २११, मझौला १२ र ठूला ३ उद्योगका लागि उक्त लगानी प्रतिवद्धता प्राप्त भएको हो । उक्त प्रतिबद्धता अनुसार लगानी भित्रिए १२ हजार १ सय ६७ जनाले रोजगारी पाउने विभागले जनाएको छ।

विभागका अनुसार पुस महिनमा मात्रै २७ वटा उद्योगका लागि १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। पुसमा साना २२ र मझौला ५ उद्योगका लागि प्रतिवद्धता प्राप्त भएको हो ।

त्यसैगरी विभागले उक्त अवधिमा २८ वटा सेयर खरिद सम्झौतालाई पनि स्वीकृति दिएको छ। जसबाट ४ अर्ब १ करोड ३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ विदेशी लगानी भित्रिने विभागको भनाई छ। पुसमा मात्रै यस्तो स्वीकृति ७ वटाले पाएका छन् जुन २६ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता हो।
विभागका अनुसार सोही अवधिमा ३१ वटा प्रविधि हस्तान्तरण सम्झौतालाई स्वीकृति दिएको छ। पुसमा मात्रै चारवटा यस्ता सम्झौताले स्वीकृति पाएका छन्।

क्षेत्रगत रुपमा ६ महिनामा आएको लगानी उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खानीजन्य, सेवा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा भित्रिएको हो। यसअनुसार ६ महिनामा पर्यटनमा ४५ प्रतिशत, सेवातर्फ ३७ प्रतिशत, उत्पादनतर्फ १० प्रतिशत, सूचना प्रविधितर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ २ प्रतिशत, ऊर्जामा शून्य, खनिजमा १ र कृषिमा २ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ।

विभागका अनुसार ६ महिनामा १ हजार ३ सय ५६ लगानीकर्ताले बिजनेस भिसा लिएका छन्। गत वर्ष सोही अवधिमा १ हजार ११ लगानीकर्ताले बिजनेस भिसा लिएका थिए।

उक्त अवधिमा विदेशी लगानीकर्ताले १ अर्ब ४ करोड १६ लाख ८६ हजार ६ सय ९८ रुपैयाँ रोयल्टी र बोनसबापत १ अर्ब ५३ करोड ६५ लाख ३० हजार ५ सय ७१ रुपैयाँ लगानी फिर्ता लगेको विभागले जनाएको छ। विदेशी मुद्रातर्फ अमेरिकी डलरमा ८ लाख, भारतीय मुद्रामा झण्डै १४ करोड र युरोतर्फ १३ हजार ६ सय रोयल्टीबापतको रकम आफ्नो देशमा लगेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।