बजार प्रवेश र नाफा सुरक्षित गर्नेको प्रतिस्पर्धामा पौने १० अर्बको कारोबार

0
Shares

अघिल्लो दिन ५० अंक बढीले बढेको सेयर बजारमा बुधबार सामान्य करेक्सन आएको छ । नेप्से सूचकमा १२ अंकको करेक्सन आएपनि नाफा सुरक्षित गर्ने र बजार प्रवेश गर्ने लगानीकर्ताबीचको प्रतिस्पर्धाले कारोबार पौने १० अर्ब पुगेको छ ।

बुधबार सेयर बजार १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा झरेको छ । यसदिन ९ अर्ब ७६ करोड ८९ लाख बराबरको सेयर किनबेच भएको छ । अल्पकालमा नाफा गरेका कारोबारीहरुले नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रमले पनि तिब्रता पाएको छ । जसले गर्दा बजारमा करेक्सन आएपनि कारोबारमा उच्च वृद्धि भएको हो । मंगलबार ८ अर्ब बढीको सेयर खरिद बिक्री भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले माघदेखि लागू हुनेगरी ब्याजदर घटाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन थालेको छ । अन्य क्षेत्रमा कर्जा प्रवाह सुस्त रहेको अवस्थामा सेयर धितोमा कर्जा प्रवाह पनि बढेको छ । सस्तो ब्याजदरमा कर्जा पाएपछि ऋण लिएर सेयर खरिद गर्ने बढेका छन् ।

आज कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८० कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र गरिमा डिभेञ्चर २०८५ को सेयरमूल्य उच्चदरले बढेको छ ।

त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीको ६५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।