तीन वाणिज्य बैंक सहित ६ वित्तीय संस्थालाई कारबाही, मुक्तिनाथ विकास बैंकलाई १० लाख जरिवाना

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन वाणिज्य बैंक सहित ६ वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले बढी लिएको प्रिमियम ब्याज फिर्ता नगरेको, पुँजीकोष गणनाको विवरण गलत बुझाएको लगायतका शिर्षकमा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकले दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, मुक्तीनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले नगद जरीवाना देखि सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराउने सम्मको कारबाही गरेको छ ।

मुक्तिनाथ विकास बैंकलाई १० लाख नगद जरिवाना

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केन्द्रीय बैंकले मुक्तीनाथ विकास बैंकलाइ नगद र जरिवाना गरेको छ । राष्ट्र बैंकले मुक्तीनाथ विकास बैंकलाई वित्तीय कारोबार गर्दा बास्तवीक धनी पहिचान नगरेको पाएइपछि नगद जरिवाना गरेको हो ।

सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार बैंक तथा वित्तीय संस्थाले कारोबार गर्दा बास्तवीक धनी पहिचान गर्नु पर्ने हुन्छ । त्यसका लागि केन्द्रीय बैंकले निर्देशन जारी गरेर धनी पहिचान गर्ने संयन्त्रको स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ । तर, मुक्तीनाथले सो अनुसार नगरेको केन्द्रयि बैंकले जनाएको हो ।

साथै मुक्तीनाथ विकास बैंकले सम्पत्ति शुद्धिकरण निवारणको सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्ने हुन्छ । तर, बैंकले सो अनुसार निरन्तर अनुगमन पनि नगरेको केन्द्रीय बैंकले भेटेको छ । त्यसैले केन्द्रीय बैंकले जारी गरेको निर्देशन उल्लंघन गरेकाले मुक्तीनाथ विकास बैंकलाई एकीकृत निर्देशन २०८० मा व्यवस्था भए अनुसार १० लाख नगद जरिवाना गराईएको जनाएको छ ।

तीन वाणिज्य बैंकका सञ्चालक तथा प्रमुख कार्यकारीलाई सचेत

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई, हिमालयन बैंक र प्रभू बैंकको सञ्चालक समिति तथा प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

केन्द्रीय बैंक हिमालयन बैंक र प्रभु बैंकलाई पुँजी कोष अनुपात गणना गर्दा फरक गरेको भन्दै सञ्चालक समिति र प्रमूख कार्यकारी अधिकृतलाइ सचेत गराएको हो । त्यसैगरी ग्लोबल आइएमई बैंकको सन्दर्भमा वढी लिएको प्रिमियम ब्याज ग्राहकलाई फिर्ता नगरेपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमूख कार्यरकारी अधिकृतलाई सचेत गराएको हो । साथै ग्लोबल बैंकलाई कर्जा नोक्सानी व्यवस्था अनुसार प्रयाप्त रकम नछुट्याएकोमा समेत कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले गरिमा विकास बैंकका सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाइ पनि सचेत गराएको छ । बैंकका सञचालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्ति संयुक्त खातामा बीमा कम्पनी खोल्न जम्मा भएको आवेदन रकम विभिन्न चरणमा खर्च हुँदा पनि ती कारोबारहरुको अनुगमन नगरेको भन्दै संस्थागत सुशासन र संचालकको आचरण कमजोर देखिएपछि सचेत गराएको हो । साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराईएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको दोस्रो त्रैमासमा केन्द्रीय बैंकले रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्लीलाई सचेत गराएको छ । मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको पाएपछि केन्द्रीय बैंकले कारबाही गरेको हो । संयुक्त खाताको नियमित रुपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले सञ्चालक कुशप्रसाद मल्लीलाई सचेत गराईएको केन्द्रीय बैंकले जनाएको छ । साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराईएको केन्द्रीय बैकले जनाएको छ । रिलायन्स फाइनान्स चालु आवको पहिलो त्रैमासमा पनि कारबाहीमा परेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।