अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण


व्यवसायी अरुण चौधरी पक्राउ परेको विषयलाई लिएर निजी क्षेत्रका छाता संस्थाहरुले आपत्ती जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको जनाएको छ ।

“पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,” महासंघले भनेको छ ।

केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।