केन्द्रीय बैंकले २५ अर्ब निक्षेप लिएपछि ब्याजदरले करिडोरको तल्लो सीमा छोयो

0
Shares

वित्तीय प्रणालीको अधिक तरलताका कारण घटेको निक्षेप संकलन उपकरणको ब्याजदर पुनः बढेको छ । केन्द्रीय बैंकले आइतबार २५ अर्ब तरलता खिचेसंगै निक्षेप संकलन उपकरणको ब्याजदर ३ प्रतिशत भन्दा माथि पुगेको हो ।

गत साताको अन्तिम दिन शुक्रबार निक्षेप संकलन उपकरणको ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको थियो । गत शुक्रबार केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउनका १० अर्ब निक्षेप संकलनको माग गरेको थियो । तर, वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण अन्तर बैंकदर घटेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्छ । उक्त उपकरण मार्फत बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकलाई निक्षेप दिन्छ र ब्याज लिन्छन ।

केन्द्रीय बैंकले शुक्रबार १० अर्ब निक्षेप खिच्दा पनि अन्तर बैंक दरमा सुधार आएन । त्यसका साथै निक्षेप संकलनमा पनि बैंकहरुको अधिक लगानी पर्यो ब्याजदर घट्न पुग्यो । त्यसपछि केन्द्रीय बैंकले ब्याजदर बढाउनका लागि आइतबार २५ अर्ब निक्षेप संकलन गरेको हो ।

केन्द्रीय बैंकले आइतबार २५ अर्ब निक्षेप संकलन गरेपछि ब्याजदर पनि केही बढेको हो । शुक्रबार २.९४४४ प्रतिशत रहेको निक्षेप संकलनको औसत ब्याजदर आइतबार बढेर ३.०२२१ प्रतिशतमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबार वित्तीय प्रणालीमा एक खर्ब तरलता रहेको थियो ।

बैंकहरुले कर्जा लगानी बढाउन नसकेको र कर्जा असुलीलाई बढी प्राथमिकतामा राखेकाले पनि वित्तीय प्रणालीमा तरलता बढेको हो । त्यसका साथै न्यून पुँजीकोषका कारण बैंकहरुले कर्जा दिन चाहेको खण्डमा पनि दिन नसक्ने अवस्था समेत अधिक तरलताको अवस्था देखिएको हो । त्यसले गर्दा पनि अल्पकालिन ब्याजदर बढाउन केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेको हो ।

आइतबार केन्द्रीय बैंकले ७ दिनका लागि बैंक वित्तीय संस्थाबाट २५ अर्ब निक्षेप लिएको छ । केन्द्रीय बैंकले २५ अर्ब माग गरेको भएपनि बैंक तथा वित्तीय संस्थाले ३५ अर्ब ७५ करोड रुपैयाँ बरावरको निक्षेप दिन खोजेका थिए । उक्त निक्षेपमा बैंक वित्तीय संस्थाले अधिकतम ३.१२ र न्यूनतम २.९ प्रतिशत ब्याजदर माग गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।