लघुवित्तहरुको शुद्धिकरण र सवलीकरणका लागि राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

0
Shares

“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने नाराका साथ यहि फागुन ५ र ६ गते काठमाडौंमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने भएको छ ।

यो सम्मेलन मुख्यरुपमा लघुवित्त सेवालाई स्वस्च्छ, स्वस्थ र बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रकोरुपमा अगाडी बढाउनेमा केन्द्रित हुने आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

साथै सम्मेलनले हरेक लघुवित्त संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बन्नतर्फ विशेष जोड दिने लघुवित्त सदस्य सम्मेलनका अध्यक्ष शंकरमान श्रेष्ठले बताए।सम्मेलनले तय गरेको “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने नारा सार्थक बनाउन लघुवित्तमा हाल देखा परेका समस्या र त्यसको निकासबारे छलफल गरिने श्रेष्ठले बताए ।

सम्मेलनमा लघुवित्तका प्रवर्द्धक, सञ्चालक, व्यवस्थापक, कर्मचारी, नीतिगत तथा नियामक निकायका करिब ७ सय प्रतिनिधिहरु एकै ठाउंमा भेला भएर लघुवित्त क्षेत्रका कमी कमजोरीहरु बारे समीक्षा गर्ने बताइएको छ ।

लघुवित्त क्षेत्रमा देखिएका विकृति, विसंगति र विचलनहरुलाई नियन्त्रण गरी लघुवित्त सेवालाई अझ स्वच्छ, स्वस्थ र सदस्यमुखी, गरीब तथा विपन्नमैत्री र दिगो बनाउन संस्थागत एवं कार्यगत शुद्धिकरण र सवलीकरणको उपायहरु पहिल्याउन, लक्षित वर्गको विकासको नयाँ सम्भावनाहरु खोजबिन गर्न र आगामी दुई वर्षमा सम्पन्न गर्ने गरी मार्गचित्र तय गर्ने आयोजकको उदेश्य छ ।

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५ हजार ८२ शाखाहरु मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् ।

लघुवित्त गर्ने संस्थाहरुले ४ अर्ब ३२ करोड भन्दा वढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेका छन् ।

देशको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता, लघुवित्त कारोबार गर्ने संस्थाहरुबीच अधिक प्रतिस्पर्धा, लघुवित्त प्रति आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने समूहको सक्रियता लगायतका कारण नेपालको लघुवित्त क्षेत्र यतिबेला विषम परिस्थितीबाट गुज्री रहेको लघुवित्त संचालकहरुको बुझाई छ ।

लघुवित्त सञ्चालन गर्ने संस्थाहरुको कर्जा असुली प्रभावित बन्दा खराव कर्जा बृद्धि भइरहेको छ । लघुवित्त सेवा प्रति समाजमा फैलिएको गलत सन्देशका कारण व्यवसाय विस्तार गर्न अप्ठेरो परिस्थिती सिर्जना हुन थालेको उनीहरुको अनुभव छ ।

सम्मेलनले विशेषतः लघुवित्त गर्ने संस्थाहरुलाई आफ्नो कार्य क्षेत्रमा रहेका गाउँ वा समुदायलाई सजग र सचेत बनाई स्थानीय स्तरमा उपलब्ध प्राकृतिक, मानवीय तथा सांस्कृतिक श्रोतको जगेर्ना र समुचित परिचालन गरी आम्दानी बढाउन ती गाउँ वा समुदायलाई वातावरणमैत्री स्वावलम्बन गाउँको रुपमा विकास गर्दै लैजाने विषयमा पनि छलफल गर्ने आयेजकको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।