‘बजेटको संशोधित अनुमानलाई घटाएको भन्न मिल्दैन’ – अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट घटाइएको नभई संशोधित लक्ष्य मात्र सार्वजनिक गरिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी अर्थमन्त्री महतले संसद्बाट पारित भएको बजेट अर्थमन्त्रालयले घटाउन नसक्ने तर्क गरेका हुन् ।

पत्रकार सम्मेलनमा बजेट कटौती गर्ने आफ्नो सोच नरहेको बताएका उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले गरेको व्यवस्था अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक मात्र गरिएको दाबी गरे ।

माघ २९ गते अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनयोजन गरिएको बजेटको संशोधित अनुमान सार्वननिक गरेको थियो । गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षा मार्फत १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए । उक्त अनुमानलाई बजेट नै घटाएको भनेर व्याख्या गर्न नमिल्ने उनले बताए ।

“माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधारमा बजेटको संशोधित लक्ष्य सार्वजनिक गरिएको मात्र हो,” अर्थमन्त्री महतले भने, “बजेट मन्त्रालयले घटाउन सक्दैन ।” अनुमान गरेभन्दा बढी खर्च होस् भन्ने आफ्नो चहना रहेको बताएका उनले सोही अनुसार अनुमानभन्दा बढी राजश्व संकलन होस् भन्ने चाहेको बताए ।

पुँजीगत खर्च गर्ने प्रणालीमा नै समस्या रहेको बताएका उनले प्रणालीको सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याए । अहिले खर्च बढिरहेको अवस्थामा प्रणालीमा सुधार गर्ने हो भने लक्ष्य अनुसार खर्च गर्न कुनै समस्या नहुने उनको भनाई थियो । आम्दानी र खर्चबीचको खाडललाई घटाउन प्रयास भइरहेको बताएका उनले अनुमान अनुसार नभए पनि पुँजीगत खर्चमा प्रगति भइरहेको दाबी गरेका थिए ।

स्रोतको अभावमा दायित्व पुरा गर्न असहज भएको भन्दै मन्त्री महतले आम्दानी अनुसार प्राथमिकताका आधारमा स्रोत सुनिश्चित गर्न मन्त्रालयले काम गरिरहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटका लागि राष्ट्रिय योजना आयोगले १८ खर्बको सिलिङ दिएको पनि उनले जानकारी दिए । बजेट सिलिङका विषयमा प्रभावकारी रुपमा छलफल भइसकेको बताएका उनले आगामी आर्थिक वर्षको बजेट अनौपचारिक क्षेत्र केन्द्रित हुने बताए । अनौपचारिक क्षेत्रलाई करको दायरामा ल्याउन समिति नै बनाएर गृहकार्य थालिएको उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।