फागुनमा १६ कम्पनीले साधारण सभा सम्पन्न गर्दै, पाँचले दिँदैछन् लाभांश

0
Shares

चालु आर्थिक वर्षको पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकेका नेप्सेमा सूचीकृत १६ कम्पनीले फागुन महीनाका लागि वार्षिक साधारण सभा बोलाएका छन् । साधारण सभा आह्वान गरेका १६ मध्ये सेयरधनीलाई ५ कम्पनीले मात्र सेयरधनीलाई लाभांश दिएका छन् भने ११ कम्पनीले सेयरधनीलाई निराश बनाएका छन् ।

कम्पनी ऐन अनुसार कम्पनीहरूले पुस मसान्तसम्म नै साधारण सभा सक्नुपर्ने हो । तर विभिन्न कारणले धेरै कम्पनीले पुस मसान्तमा सभा सकाउन नसकेपछि फागुनमा पनि सभा बोलाउने क्रम जारी छ । फागुनमा एजीएम आह्वान गरेका १६ मध्ये दश ओटा लघुवित्त रहेका छन् । चार इन्स्योरेन्स, एक हाइड्रोपावर, एक फाइनान्स रहेका छन् ।

पाँच कम्पनीले दिँदैछन् लाभांश

फागुन महीनामा साधारण सभा आह्वान गरेका पाँच कम्पनीले सेयरधनीलाई लाभांश सहितको साधारण सभा बोलाएका छन् । फागुनमा सभा बोलाएका एशियन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर र स्वरोजगार लघुवित्तले सेयरधनीलाई लाभांश दिने भएका हुन् ।

एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिँदैछ । सेयरधनीलाई लाभांश सहित चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सहित इन्स्योरेन्सले फागुन १८ गते शुक्रबार साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार फागुन ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सले गत आवको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिँदैछ । इन्स्योरेन्सले फागुन ३० गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार फागुन १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

यसैगरी हिमालयन रिइन्स्योरेन्स फागुन २० गते आइतबारका लागि सभा बोलाएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार फागुन १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९ प्रतिशत नगद लाभांश दिँदैछ । लाभांश पारित गर्न कम्पनीले फागुन १७ गते बिहीबार साधारण सभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार फागुन ३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न फागुन २६ गते शनिबार साधारण सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.०३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार फागुन १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

एघार कम्पनीको लाभांश बिना सभा आह्वान

गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न बाँकी रहेका ११ कम्पनीले लाभांश बिना साधारण सभा बोलाएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, कालिका लघुवित्त, स्वाभिमान लघुवित्त, नेरुडे लघुवित्त, सबैको लघुवित्त, निधन उत्थान लघुवित्त, मिर्मिरे लघुवित्त, मल्टीपर्पस फाइनान्स, साधना लघुवित्त, महिला लघुवित्त र विन नेपाल लघुवित्त रहेका छन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि फागुन २० गते आइतबार साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षबाट सेयरधनीका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कालिका लघुवित्त वित्तीय संस्थाले पनि फागुन २४ गते बिहीबारका लागि सभा बोलाएको छ । यो कम्पनीले सेयरधनीलाई दिएको छैन । लाभांश नदिएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि फागुन ११ गते शुक्रबारका लागि सभा बोलाएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सबैको लघुवित्त वित्तीय संस्थाले फागुन १९ गते शनिबार सभा बोलाएको छ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । निधन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते शुक्रबार साधारण सभा बोलाएको छ । यस लघुवित्त कम्पनीले पनि सेयरधनीको हात खाली बनाएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि सेयरधनी निराश बनाएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन १४ गते सोमबारका लागि साधारण सभा बोलाएको छ ।

सेयरधनीको हात खाली बनाएको मल्टीपर्पस फाइनान्स कम्पनीले फागुन १८ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । साधना लघुवित्त वित्तीय संस्थाले फागुन १९ गते शनिबार साधारण सभा आह्वान गरेको छ । महिला लघुवित्त वित्तीय संस्थाले फागुन २७ गते आइतबार साधारण सभा बोलाएको छ । विन नेपाल लघुवत्तिले पनि फागुन २९ गते मंगलबार साधारण सभा बोलाएको छ । यी कुनैपनि कम्पनीले सेयरधनीलाई लाभांश दिएनन् भने सभाबाट वार्षिक प्रतिवेदन पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।