व्यक्तिगत भन्दा संस्थागत निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुले कम गर्न राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर अन्तर एक प्रतिशत विन्दु कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गर्दै सो बमोजिमको व्यवस्था २०८० चैत १ देखि लागु गर्न केन्द्रिय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर एउटै हुन नहुने भन्दै फरक राख्न यस्तो व्यवस्था गरेको होे । यसअघि केन्द्रीय बैंकले संस्थागत निक्षेपको व्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था गरेको थियो । तर, पछिल्लो समयमा घट्दो ब्याजदरका कारण संस्थागत निक्षेपकर्तालाई धेरै असर गरेको भन्दै केन्द्रीय बैंकले २ प्रतिशत विन्दुको फरकलाई घटाई एक प्रतिशतमा कायम गरेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखेको छ । त्यसैगरी अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई पनि परिवर्तन गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।