भारतको गुजरातमा फिनटेक विकासका लागि एडिबिको २३ मिलियन डलर ऋण सहयोग

0
Shares

एशियाली विकास बैंक (एडिबि) ले भारतको गुजरातमा फिनटेक क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न, फिनटेक शिक्षाको गुणस्तर बढाउन, यसै क्षेत्रमा हुने अनुसन्धानको सङ्ख्या बढाउन गुजरात इन्टरनेशनल फाइनान्स टेक–सिटी (गिफ्ट) लाई २३ मिलियन डलर ऋण सहयोग गर्ने भएको छ ।

भारतमा पछिल्लो समयमा देखिएको फिनटेक उद्योगको विकासले मानिसहरुलाई व्यवसाय सुरु गर्न, देशको आर्थिक वृद्धि दर बढाउन र भावी समस्याको समाधानका लागि देशलाई तयार रहन सहयोग पुगेको एडिबिका अर्थशास्त्री कानुप्रिया गुप्ताले बताए ।

एडिबिबाट प्राप्त सहयोग रकमले भारतको फिनटेक शिक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्नुका साथै डिजिटल र वित्तीय सेवालाई थप प्रभावकारी बनाउन र पहुँच बढाउन सहयोग गर्ने गुप्ताको विश्वास छ ।

एडिबिले प्रदान गरेको सहयोग रकमबाट गिफ्ट संस्थाको परिसरमा समावेशी, दिगो तथा जलवायु–स्मार्ट अन्तराष्ट्रिय फिनटेक इन्स्टीच्युट (आइएफआइ) निर्माण हुनेछ । यो संस्थानले व्यवसाय सुरुवात गर्न इन्क्युबेशन र एक्सेलरेशन सेवा प्रदान गर्ने छ भने महिला उद्यमीहरुलाई वित्तीय तथा प्राविधिक सहयोग गर्ने छ । यो परियोजनाले स्टेट फिनटेक रेडिनेस सूचकांक स्थापना गर्ने लक्ष्य राखेको छ ।

भारतमा फिनटेक इकोसिस्टम र वित्तीय सुविधा प्रवद्र्धन गर्ने कार्यहरु गरिरहेको गिफ्ट एक सरकारी संस्था हो । यो संस्था भारतको पहिलो अन्तराष्ट्रिय वित्तीय सेवा केन्द्र हो जसले स्थानीय स्टार्टअपको विकासमा सहयोग प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।