बैंकहरुसंग ४ खर्ब भन्दा धेरै फण्ड हुँदा पनि कर्जा लगानी बढाउन सकिएन: सुनिल केसी

0
Shares

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थासंग पर्याप्त कर्जा लगानी योग्य रकम हु्ँदा पनि कर्जा बढ्न नसकेको बताए । उनले बैंकहरुले करिब ४ खर्ब भन्दा धेरै फण्ड भएपनि कर्जा विस्तार आशा गरे अनुसार हुन नसकेको बताए हुन ।

सरकारले पुँजीगत खर्च अपेक्षा अनुसार बढाउन नसकेको भएपनि चालु खाता बचतमा छ । शोधनान्तर स्थिती सकारात्मक छ । त्यसैगरी विदेशी विनियमय सञ्चिति पनि हालसम्मकै धेरै छ । तर पनि आर्थिक गतिविधिमा सुधार आउन नसकेको बताउदै अध्यक्ष केसीले भने,“ब्याजदर घट्दो क्रममा छ भने मूल्य वृद्धि पनि क्रमीक रुपमा तल झर्दै आएको छ ।” अथतन्त्रमा पछिल्ला सुचकहरु हेर्दा सकारात्मक भएपनि आर्थिक गतिविधि बढ्न नसकेपछि केन्द्रीय बैंकसंग छलफल सुरु गरेको उनले बताए ।

“अर्थतन्त्रका सुचक सकारात्मक भएको अवस्थामा बैंकहरुसंग भएको फण्डलाइ परिचालन गर्ने सन्दर्भमा केन्द्रीय बैंकसंग छलफल सुरु गरेका छौ,” केसीले भने,“अर्थतन्त्रको बाह्य क्षेत्र सुधारका लागि गरिएका कामहरुले समग्र अर्थतन्त्रलाइ लयमा ल्याएको छ।”

अर्थतन्त्र सकारात्मक भएपनि आर्थिक गतिविधि बढ्न नसक्दा बैंकहरुले कर्जा लगानी बढाउन नसकेको उनले बताए । बैंकहरुले लगानी बढाउन नसक्दा आम्दानीमा समेत असर गरेको उनको भनाई छ । पछिल्लो समयमा बैंकहरुको खराब कर्जा बढ्दा नाफामा समेत असर गरेको छ । बैंकहरुले प्रोभिजनिङ बढाउन पर्दा वितरण योग्य नाफा समेत नकारात्मक हुन पुगेको केसीले बताए ।“बैंकिङ क्षेत्रमा अहिलेको मूख्य चुनौति भनेको नकारात्मक वितरण योग्य नाफा हो,” उनले भने,“यो आगामी दिनमा झनै बढ्न सक्ने देखिन्छ।”

पछिल्लो समयमा केही अराजक समुहबाट बैंकिङ क्षेत्रप्रति जनविश्वास कमजोर बनाउने काम भएको गुनासो केसीले गरे । बैंकिङमा कुनै समस्या नभएको र हुन सक्ने जोखिमलाई पनि व्यवस्थापन गर्न सक्ने क्षमता रहेकाले डराउनु पर्ने अवस्था नरहेको उनले बताए । “अहिले बैंकहरुको केही खराब कर्जा बढेको भएपनि त्यसको पूर्ण व्यवस्थापन गर्न यो क्षेत्र सक्षम छ,” केसीले भने,“बैंकहरु समस्यामा छन भन्ने कुरा गलत हो ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।