सन सेक्युरिटिज र पोखरा विश्वविद्यालयबीच वित्तीय साक्षरतामा सहकार्य


सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालय अन्तरगतको स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखरा बीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।

सन नलेज पार्टनरशीप कार्यक्रम अन्तरगत बुधबार भएको सम्झौता अनुसार सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकाय अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।

सम्झौता अन्तरगत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश संकायका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।

पोखरा विश्व विद्यालय फ्याकल्टि अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालको उपस्थितीमा सम्पन्न कार्यक्रममा पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सका तर्फबाट अध्यक्ष स्वस्तिका क्षेत्री र सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रमसँगै सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश संकाय अन्तरगत बिबिए र बिबिएबिआईका विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयमा बुधबारै १ दिने वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सले आयोजना गरेको थियो भने प्राविधिक सहयोग तथा तालिम प्रशिक्षक व्यवस्थापन सन सेक्युरिटिजले गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा सैयम बज्राचार्यले दिएको तालिममा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषय समेटिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।