बैंकरलाई साथ दिँदै व्यवसायीक संगठन, बैंकर तथा व्यवसायी पक्राउको विरोधमा निजी क्षेत्र एक

0
Shares

केन्द्रीय अनुसन्धान ब्यूरोले केही बैंकरहरुलाई पक्राउ गरेपछि उद्योगी व्यवसायीहरुले पनि औपचारिक रुपमा विरोध जनाएका छन् । बैंक तथा वित्तीय संस्थाका छाता संगठन संगै बैंकका साहुजीहरुको संस्था तथा उद्योगी व्यवसायीका संगठनहरुले पनि असल नियतले काम गर्दा देखिएको त्रुटीमा हिरासत मै लिने गतिविधिको विरोध गरेका हुन् ।

ब्यूरोले मंगलबार तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पुर्वप्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा प्रभु बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना बैंकरलाई पक्राउ गर्यो । त्यसपछि बैंकिङ क्षेत्र नै तरङ्गित भएको छ । बैंकरहरुले आन्दोलन गर्ने सम्मको तयारी गरेका थिए । त्यसमा केन्द्रीय बैंकले तत्काल आन्दोलन नगर्न भनेपछि बैंकहरुको दौडधुप तीब्र भएको छ ।

मंगलबार नै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एशोसीएसन र माइक्रोफाइनान्स बैंकर्स एशोसीएसनले आपत्ति जनाए । त्यसको दुई दिनपछि बैंक वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले पनि विरोध जनायो । सो क्रमलाइ निरन्तरता दिँदै शुक्रबार उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले पनि संयुक्त रुपमा विरोध जनाए । यसैगरी सरकारी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउमा पनि निजी क्षेत्रले एकैस्वरमा विरोध जनाएका थिए ।

व्यवसायीहरुले बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवं नेपाल राष्ट्र् बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनहरु भित्र रहेर बैंकिंग कारोवार गर्दै आइरहेको जनाएका छन् । धितो मूल्याङ्कन भन्दा धेरै कर्जा दिएको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पक्राउ गरेको प्रति ध्यानाकर्षण गराएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्वन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको विधि एवं नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको उनीहरुको भनाइ छ । चालु पुँजी कर्जाको हकमा व्यवसाय बिग्रिएको अवस्थामा सामान तथा लेना बक्यौता मै ह्रास आउने भै कर्जाको जोखिम बढ्ने सामान्य कुरा हुन् । त्यस्तो अवस्थालाई दृष्टिगत गरी बैंक वित्तीय संस्थाहरुले नियामकीय निर्देशानुसार नै जोखिम व्यवस्थापन वापत रकम छुट्याउने गरी आएका व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र् बैंकले समय समयमा वैंक वित्तीय संस्थाहरुको संस्थागत तथा गैरस्थल गत निरीक्षण समेत गर्छ । मानवीय त्रुटी वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीहरुलाई प्रचलित कानून बमोजिम कारवाई हुनुपर्नेमा व्यवसायीहरु स्पष्ट छन् । तर, गलत मनसाय नभई गरिएको कामको सन्दर्भलाई लिएर धरपकड गर्न नहुने उनीहरुको भनाई छ ।

विद्यमान कानूनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो की भन्ने आशङ्का उनीहरुको छ । यस्ता कार्यले बैंकरहरुको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने व्यवसायीहरुको बुझाइ छ । त्यसको असर समग्र अर्थतन्त्रको बृद्धि विकासमा हुन सक्ने तर्फ ध्यानदिन सम्बन्धित सबै पक्षलाई व्यवसायीहरुले अनुरोध पनि गरेका छन् ।

अनुसन्धान गर्दा दोषी देखिएमा कारबाही गर्नुपर्छ । तर, बैंकिङ्ग जस्तो संवेदनशील क्षेत्रमा भईरहेको पछिल्ला गतिविधिले नकारात्मक असर बढी पार्न सक्नेतर्फ सम्बन्धीत पक्ष सचेत हुनपर्ने व्यवसायीहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।