केन्द्रीय बैंकमा सवा खर्ब निक्षेप राखेका बैंकहरुद्धारा ट्रेजरी बिल्समा ६४ अर्बको आवेदन

0
Shares

बैंकिङ प्रणालीमा अधित तरलताको समस्या झनै बढ्दै गएको छ । आइतबार एक खर्ब २३ अर्ब रुपैयाँ स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले सोमबार नै ६४ अर्बको ट्रेजरी खरिद आवेदन दिएपछि अधिक तरलताको समस्या बढेको स्पष्ट भएको हो ।

बैंक तथा वित्तीय संस्थाले आइतबार ३ प्रतिशत ब्याजदरमा एक खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । त्यसको भोलीपल्टै अर्थात सोमबार केन्द्रीय बैंकले निष्कासन गरेको १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले ६४ अर्ब रुपैयाँ धेरैको माग आवेदन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप पाउने दर भन्दा पनि घटेर ट्रेजरीको डिस्काउन्ट रेट माग गरेको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समयमा आर्थिक गतिविधिमा सुधार आउन नसकेपछि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्न सकेको छैन । कर्जाको माग बढ्न नसकेसंगै बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या देखिएको छ । अधिकत तरलता भएपछि बैंकहरुले ब्याजदर समेत घटाउन थालेका छन् । ब्याजदर घटाउँदा पनि निक्षेप थपिने क्रम बढेपछि बैंकहरुलाई कोषको लागत घटाउन भएपनि सानो सानो आम्दानीका क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता छ । त्यसले गर्दा पनि बैंक वित्तीय संस्था ट्रेजरी बिल्समा लगानी गर्न अकर्षित भएका हुन ।

वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै अल्पकालिन लगानी समेत बैंकहरुको उच्च प्रतिस्पर्धा हुन थालेको छ । बैंकहरुको उच्च प्रतिस्पार्धाले ट्रेजरीको डिस्काउन्ट रेट समेत घटाएको छ । सोमबार केन्द्रीय बैंकले सरकारका लागि नविकरण गरेको दुबै प्रकारका ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट घटेको छ ।

सोमबार केन्द्रीय बैंकले ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ९१ दिने र ७ अर्ब बराबरको १८२ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो । सो मध्ये ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ६ करोड रुपौयँ बराबरको माग आवेदन दिएका छन् । उक्त आवेदनमा बैंक तथा वित्तीय संस्थाले अधिकत २.८२९९ र न्यूनतम २.७४१९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छ । सोमबार ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट २.७८८९ प्रतिशत कायम भएको छ। यो डिस्काउन्ट रेट फागुन १५ गतेको तुलनामा थोरै हो । फागुन १५ गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट २.८९४० प्रतिशत थियो ।

त्यसैगरी सोमबार नविकरण भएको १८२ दिने ट्रेजीका लागि बैंक तथा वित्तीय संस्थालले ३२ अर्ब २२ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् । सो ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाहरुले अधितम ३.२३९८ र न्यूनतम ३.०९०० प्रतिशत माग गरेका छन । सोमबारको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.१७६७ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट फागुन एक गतेको तुलनामा थोरै हो । फागुन १ गते १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.२९३८ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।