इन्टरनेट बैंकिङ्ग मार्फत प्रतिदिन २० लाखसम्म कारोबार गर्न सकिने

0
Shares

नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै आएको छ। बढ्दो डिजिटल कारोबारलाई मध्यनजर गर्दै हाल इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन २० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) मार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेगरी कारोबार सीमा वृद्धि गरेको छ । कुनैपनि व्यक्तिले आफ्नो मोबाइल एप मार्फत (क्यूआर कोडसमेत) एक दिनमा ३ लाख रुपैयाँसम्मको भुक्तानी नगद नबोकी डिजिटल माध्यमबाट कारोबार गर्न सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानीमा भने उक्त सीमा लागू नहुने जनाएको छ ।

यस्तै विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमति प्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि पनि यस्तो सीमा लागू नहुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार २०८० पुस मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ३२ लाख १६ हजार ३८३ जना रहेका छन् । २०७९ पुसमा २ करोड ५३ हजार ४२० रहेको थियो । पछिल्लो एक वर्षमा मात्रै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ३१ लाख ६२ हजार ९६३ ले बढेको हो ।

यस्तै समीक्षा अवधिमा इन्टरनेट बैंकिङ्ग मार्फत गर्ने कारोबार संख्यामा समेत उल्लेख्यवृद्धि भएको छ। २०८० पुस मसान्तसम्म इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या १८ लाख २५ हजार ९२ पुगेको छ । २०७९ पुसमा १७ लाख ६८ हजार ९३२ रहेको थियो । पछिल्लो एक वर्षमा मात्रै इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या ५६ हजार १६० ले बढेको हो ।

कारोबार संख्या मात्र होइन एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङको कारोबारमा समेत उच्च वृद्धि देखिएको छ । विसं २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा मोबाइल बैंकिङ्ग कारोबार संख्या १ करोड १५ लाख ७८ हजार ९१६ वटा अर्थात ५३.४९ प्रतिशतले वृद्धि भएको छ । यस्तै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार रकम पनि ४८ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात २०.९० प्रतिशतको वृद्धि भएको छ । यस्तै समीक्षा अवधिमा इन्टरनेट बैंकिङ्गको समेत कारोबार संख्यामा ३८ हजार ८९९ ओटा अर्थात १६.६० प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा इन्टरनेट बैंकिङ्ग मार्फत हुने कारोबार रकममा २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ अर्थात २०.४८ प्रतिशतको वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार विसं २०८० पुस मसान्तसम्ममा ३ करोड ३२ लाख २४ हजार ७८ ओटा मोबाइल बैंकिङ्ग कारोबार मार्फत २ खर्ब ८२ अर्ब २४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २०७९ पुस मसान्तसम्ममा २ करोड १६ लाख ४५ हजार १६२ ओटा मोबाइल बैंकिङ्ग कारोबार मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी विसं २०८० पुस मसान्तसम्ममा इन्टरनेट बैंकिङ्ग मार्फत २ लाख ७३ हजार २८६ ओटा कारोबार मार्फत १४ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । विसं २०७९ पुस मसान्तसम्ममा इन्टरनेट बैंकिङ्ग मार्फत २ लाख ३४ हजार ३८७ ओटा कारोबार मार्फत १२ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।