पक्राउ परेका बैंकरलाई थुनामै राखेर अनुसन्धान गर्न पुनः ५ दिन म्याद थप

0
Shares

बैंकिङ कसुरको विषयमा अनुसन्धानका लागि भन्दै पक्राउ परेका १० जना बैंकका कर्मचारीहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

उच्च अदालत पाटनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सीआईबीले पक्राउ परेका १० बैंकरलाई म्याद थपका लागि मंगलबार उच्च अदालत पाटन लगेको थियो।

निजी क्षेत्रबाट उनीहरुलाई छाड्न सरकारमाथि दबाब आइरहे पनि सीआईबीले तेस्रो पटक म्याद थप गराएको हो । ब्यूरोले सेञ्चुरी बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पक्राउ गरेको थियोे।

फागुन १५ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका उनीहरुलाई पहिलो पटक ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। बयान लिने काम पूरा नभए पछि उनीहरुलाई थप ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएकोमा फेरि ५ दिन समय थप भएको हो ।

बैंकर गौतम र न्यौपाने सहितका तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौँलागाईलाई एक अर्ब १४ करोडको मूल्याङ्कन भएको धितोमा दुई अर्ब ११ करोड कर्जा दिएको भेटेपछि व्युरोले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कर्जा चौँलागाई संलग्न भएका पुजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पुजा मार्केटिङ, र अन्नपुर्ण डिस्टिलरीमा प्रवाह भएको ब्यूरोले जनाएको छ । गत कात्तिक १७ गते पक्राउ परेका चौलागाई अदालतको आदेशपछि अहिले थुनामा छन् ।

बैंकरहरु पक्राउ परेपछि सम्पुर्ण निजी क्षेत्रले एकस्वर गर्दै विरोध गरेका छन् । बैंकरहरु पनि केन्द्रीय अनुसन्धान ब्यूरोदेखि गृह मन्त्रालयसम्म पुगेको अवस्था छ । बैंकर तथा व्यवसायीले थुनामै राखेर भन्दा पनि गलत गरेको पुष्टि नहुँदासम्म बाहिर नै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् । तत्कालीन सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको हो । सेञ्चुरी र प्रभु मर्जर भएर प्रभु बैंक बनेसँगै सेञ्चुरीको अस्तित्व समाप्त भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।