माघसम्म ६ फाइनान्सको घाटा ४० करोड माथि, एघारले ४६ करोड बढी कमाए

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को ७ महीना अर्थात माघ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त १७ वित्त (फाइनान्स) कम्पनीमध्ये ६ फाइनान्स कम्पनीले नोक्सानी ब्यहोर्दा ११ ओटा नाफामा रहेका छन् । अर्थतन्त्रमा आएको सुस्तताका कारण नयाँ कर्जाको मागमा आएको कमी र प्रवाहित ऋण समयमा नै असुली हुन नसक्दा वित्त कम्पनीहरुको मुनाफामा असर देखिएको हो । 

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को माघ मसान्तसम्मको तथ्याङ्क अनुसार ६ ओटा फाइनान्स कम्पनीले ४० करोड ३९ लाख ५० हजार रुपैयाँ नोक्सानी ब्यहोरेका हुन् । समीक्षा अवधिमा ११ ओटा फाइनान्स कम्पनीले ४६ करोड १५ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् । समग्रमा फाइनान्सहरुको नाफा ५ करोड ७६ लाख १० हजार रुपैयाँ छ ।

चालु आर्थिक वर्षको ७ महीना अवधिमा सबैभन्दा धेरै घाटामा रहेको प्रोगेशिभ फाइनान्स कम्पनीले १३ करोड ५७ लाख ३० हजार नोक्सानी ब्यहोरेको छ । यस्तै यस अवधिमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ६ करोड ५७ लाख ६० हजार रुपैयाँ, रिलायन्स फाइनान्स ४ करोड ६३ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्स ४ करोड १० लाख १० हजार रुपैयाँ नोक्सानीमा रहेका छन् ।

यसैगरी माघ मसान्तसम्ममा समृद्धि फाइनान्सले ३ करोड ११ लाख ५० हजार नोक्सानी ब्यहोर्दा सबैभन्दा कम घाटामा रहेको नेपाल फाइनान्स ८ लाख ४० हजार नोक्सानीमा छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार एघार फाइनान्स कम्पनीले साउनदेखि माघ मसान्तसम्ममा ४६ करोड १५ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् ।

गोर्खाज फाइनान्स नाफामा ‘नम्बर वान’ रहँदै शीर्ष स्थानमा रहेको छ । सबैभन्दा धेरै नाफा कमाएको यस फाइनान्सले माघ मसान्तसम्ममा १२ करोड ८३ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको हो । यसैगरी मञ्जुश्री फाइनान्सले गोर्खाज फाइनान्सलाई पच्छाउँदै ११ करोड ४४ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ भने आईसिएफसि फाइनान्सको नाफा ७ करोड १३ लाख २० हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा नेपाल सेयर मार्केट लिमिटेड, पोखरा फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सले साढे २ करोड माथि नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यसअवधिमा नेपाल सेयर मार्केटले २ करोड ९० हजार रुपैयाँ, पोखरा फाइनान्सले २ करोड ८३ लाख ७० हजार रुपैयाँ, गुडबिल फाइनान्सले २ करोड ६३ लाख ३० हजार रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनान्स २ करोड ४५ लाख १० हजार रुपैयाँ नाफा कमाएको हो ।

यसैगरी राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी शीघ्र सुधारात्मक प्रकृयामा रहेको क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीले १ करोड ७३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै मल्टिपर्पस फाइनान्सको नाफा १ करोड ५२ लाख रुपैयाँ छ । बेष्ट फाइनान्स र जानकी फाइनान्सको नाफा एक करोडभन्दा कम छ । तथ्याङ्क अनुसार बेष्ट फाइनान्सले माघ मसान्तसम्ममा ८० लाख ३० हजार रुपैयाँ र जानकी फाइनान्सले ७६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।