सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा पक्राउ

0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका उनलाई पक्राउ गरिएको हो । सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी-८९२ बाट काठमाडौं ल्याइएको हो ।

भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौंस्थित सीआईबीको कार्यालय ल्याइएको महराविरुद्ध मुद्दा उठाएर आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी सीआइबीले गरेको छ ।

यसअघि सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

पूर्वसभामुख महराका छोरा राहुललाई यसअघि नै भदौ १३ गते पक्राउ परिसकेका छन् । उनीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।

साढे चार वर्षमा महरा दोस्रो पटक पक्राउ परेका हुन् । उनी यसअघि २०७६ साल असोज १२ मा गते संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका थिए । सो समयमा उनी १३३ दिन थुनामा बसेका थिए ।बलात्कार मुद्दामा पक्राउ परेका महरालाई २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।