वित्तीय प्रणालीमा पैसा थुप्रिएपछि दुई दिनमा एक खर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाउन नसक्दा बैकिङ्ग प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले दुई दिनको अवधिमा वित्तीय प्रणालीबाट एक खर्ब रकम खिच्ने भएको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत विहीबार १४ दिनका लागि ५० अर्ब रकम खिचेको राष्ट्र बैंकले शुक्रबार फेरि २१ दिनका लागि ५० अर्ब नै तरलता खिच्ने भएको हो । पछिल्लो दुई दिनमा मात्रै केन्द्रिय बैंकले एक खर्ब रकम वित्तीय प्रणालीबाट झिक्ने भएको हो ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न खिचेको एक खर्ब ४१ अर्ब बिहीबार फिर्ता गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन र स्थायी तरलता सुविधा मार्फत लिएको पैसा परिपक्क भएपछि सो रकम फिर्ता गरेको हो । उक्त रकम फिर्ता भएसंगै वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था आएपछि दुई दिनमा एक खर्ब निक्षेप संकलन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

साथै अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । अहिले अन्तरबैक दर २.४० प्रतिशत रहेको छ ।

हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस् भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी अपेक्षा अनुसार बढाउन नसक्दा अधिक तरलताको समस्या जटिल बन्दै आएको छ । बढ्दो निक्षेप तुलनामा कर्जा लगानी हुन नसकेपछि बढेको अधिक तरलताले बैंकहरुको औसत कर्जा निक्षेप अनुपात समेत ७९.७३ प्रतिशतमा झरेको छ ।

केन्द्रीय बैंकका अनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थामा एक खर्ब ४७ अर्ब १४ करोड बढी अधिक तरलता रहेको छ ।

निक्षेप संकलन खरिदका लागि आज दिउँसो १२ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।