तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८४ लाख ५५ हजार राजस्व चुहावट

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्ने कार्यमा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानूनबमोजिम लिनुपर्ने राजस्व रकम नलिने तथा छोड्ने कोसिस गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सापकोटासहित तत्कालीन भन्सार अधिकृत नक्कुल शर्माले २०७९ माघ १० गते नयाँ प्रज्ञापनपत्र एम ४०५६ दर्ता गरी गराइ २०७९ माघ ११ मा सुरु घोषणा गरेको अमेरिकी डलरमा मूल्य थप गरी गराइ भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार जम्मा लाग्ने राजस्व रकम बढी म लिएको र पैठारीकर्ता देव इन्टरनेशनल प्रा. लि.को समान जाँचपास गरेको देखिएको छ ।

सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी आधा सजाय हुन माग दाबी गरिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

प्रज्ञापन पत्र नम्बर एम ७२६ को आधारमा नै मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपियाँ गैरकानुनी लाभ लिएको पुष्टि भएकोले उनीहरुविरुद्ध चुहावट राजस्व रकमको दोब्बर जरिवाना मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग गरिएको छ।

यस्तै चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुने सजायको आधा सजायलाई आधार मानेर मुख्य प्रतिवादी सापकोटा र शर्मालाई हुने सजाय बराबर सञ्चालक बस्नेत र पोखरेललाई  भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम  मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ