प्रशासनिक भवन निर्माणमा एक करोड ८ लाख भ्रष्टाचार, कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित पाँचविरुद्ध मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित कर्जन्हा नगरपालिकाका तत्कालीन प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि पनि मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरूले आर्थिक वर्ष २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको उजुरी परेको थियो। सो बारे अनुसन्धान हुँदा तत्कालीन नगर प्रमुख पासमान र निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले अनियमितता गरेको भेटिएको आयोगले जानकारी दिएको छ।

उनीहरुले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६(३) मा व्यवस्था रहेको सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रतिवादीहरूले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजहरूउपर १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद मागदाबी लिइएको आयोगले जानकारी दिएको हो।

सोही प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतो, निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जे.भी.का आधिकारिक प्रतिनिधि बैजनाथ यादवबाट पनि एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई हुने सरह नै जरिवाना र बिगो असुलउपर हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।