वित्तीय प्रणालीको निक्षेप ६२ खर्ब नाघ्यो, सीडी रेसियो ७९.६१%, झण्डै ६३ अर्ब अधिक तरलता

0
Shares

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६२ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब माथि पुग्दै अहिलेसम्मकै धेरै निक्षेपको रेकर्ड बनाएको हो ।

चैत्र १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ६२ खर्ब एक अर्ब रुपैयाँ निक्षेप जम्मा भएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ५४ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंकमा पैसा थुप्रिने क्रम बढे पनि कर्जा लगानी भने सुस्त रहेको छ । सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकले ४४ खर्ब ९८ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ७९.६१ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

बैंकमा लगानीयोग्य रकम बढे पछि अन्तर बैंक ब्याजदर पनि सीमा भन्दा तल झरहेको छ । हाल अन्तर बैंक ब्याजदर २.६३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अन्तर बैंकदर ३ प्रतिशत तल भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधाको उपयोग बढाउँदै लगेका छन । आइतबार मात्र बैंकहरुले यस्तो सुविधा अन्तरगत तीन प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा ६५ अर्ब ७० करोड बुझाएका छन । राष्ट्र बैंकका अनुसार अर्झै पनि बैंकहरुमा झण्डै ६३ अर्ब अधिक तरलता रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।