साताको सेयर बजारः नेप्से घटेपनि बढ्यो कारोबार, लघुवित्तका लगानीकर्ता मालामाल

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से यो साता ३१.५९ अंकले घट्दा कारोबार रकम भने ४३.२९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार गत बिहीबार २०३५.६४ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर २००४.०५ बिन्दुमा कायम रहेको छ ।

पाँचौ कारोबार दिन ओरालो लागेको यो साताको कारोबार रकम भने ४ अर्ब २१ करोड २९ लाख रुपैयाँले बढेर १३ अर्ब ९४ करोड ५२ लाख ३३ हजार पुगेको छ। गत साता ९ अर्ब ७३ करोड २३ लाख २ हजारको सेयर खरिद बिक्री भएको थियो । गत साता फागू पूर्णिमाको सार्वजनिक विदाका कारण चार दिन सेयर कारोबार भएकोमा यो साता पाँचै दिन सेयर बजार खुला रह्यो ।

पहिलो दिन आइतबार १७. ३० अंकले घटेको बजार, सोमबार ६.२६ अंक, मंगलबार १.८५ अंक, बुधबार ३.४३ अंक र बिहीबार नेप्से परिसूचक २.४३ अंकको झिनो गिरावट सहित बन्द भएको हो । यो साता पुँजी बजारमा ३ करोड ४८ लाख २४ हजार ६७३ कित्ता सेयर कारोबार भएको छ । जुन ३१.०९% बढी हो । गत साता २ करोड ६५ लाख ६४ हजार ८७० कित्ता कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये २ ओटा उपसमुहगत सूचक बढेको छ भने ११ ओटा घटेको छ । यो साताको बजारमा लघुवित्त सर्वाधिक ४.६२ प्रतिशत र होटल तथा पर्यटनमुलक १.२९ प्रतिशतले बढेको छ । उत्पादनमुलक सर्वाधिक ७.३९ प्रतिशतले घटेको छ। विकास बैंक २.५१, जलविद्युत २.३९, अन्य २.३८ प्रतिशतले घट्यो ।

यो साता सर्वोत्तम सिमेन्टको सर्वाधिक १ अर्ब १६ करोड ४७ लाख रुपैयाँ बढीको धितोपत्र खरिद बिक्री भएको छ । यस्तै गोर्खाज फाइनान्सको ७२ करोड ६५ लाख, शिवम् सिमेन्ट ५५ करोड ५१ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४१ करोड ४७ लाख, सोनापुर मिनरल्सको ३० करोड ८८ लाख, पिपुल्स पावरको २६ करोड २४ लाख, हिमालयन रि इन्स्योरेन्सको २४ करोड १ लाख, हाथवे इन्भेष्टमेन्टको २० करोड १२ लाख, रिभर फल्स पावरको १९ करोड ८२ लाख र हिमालयन उर्जा विकास कम्पनीको १६ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ७७ अर्ब ६७ करोड ५५ लाख रुपैयाँमा समेटिएको छ । गत साता ३२ खर्ब २७ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा १.५५% अर्थात ५० अर्ब ८ करोड ४२ लाख रुपैयाँले कुल बजार पुँजीकरण घटेको हो ।

लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

यो साताको बजारमा लघुवित्तका सेयर लगानीकर्ता मालामाल भएका छन् । उच्चसेयर मूल्य बढेका शीर्ष दश कम्पनीमा ९ ओटा लघुवित्त रहेका छन् ।

यो साताको बजारबाट गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सो लघुवित्तको सेयर मूल्य ५०.०४ प्रतिशत बढेर १९७६ रुपैयाँ पुगेको छ । यस्तै वीन नेपाल लघुवित्तको सेयर मूल्य ३५.०४ प्रतिशतले बढेर १५३०, मानुषी लघुवित्तको २२.९३ प्रतिशत बढेर १०९७ रुपैयाँ ८० पैसा, गणपति लघुवित्तको १६.३४ प्रतिशत बढेर ११८६ रुपैयाँ ७० पैसा र मनाकामना लघुवित्तको सेयर मूल्य १५.८७ प्रतिशत बढेर ९४९ रुपैयाँ पुगेको छ ।

यस्तै यो साताको बजारबाट माईखोला हाइड्रोपावरका लगानीकर्ताले १५.६५ प्रतिशतले बढेर ४३६ रुपैयाँ, महुली लघुवित्तको सेयर मूल्य १५.४१ प्रतिशतले बढेर ११६० रुपैयाँ पुगेको छ । यो साता विजय लघुवित्तका सेयरधनीले १५.०४ प्रतिशत, सपोर्ट लघुवित्त १४.०६ र श्रृजनशील लघुवित्तको सेयरको भाउ १३.०४ प्रतिशतले नाफा कमाएका छन् । यससँगै विजय लघुवित्तको सेयर प्रतिकित्ता ७८० रुपैयाँ, सपोर्ट लघुवित्तको १३९५ रुपैयाँ र श्रृजनशील लघुवित्तको ११०१ रुपैयाँ पुगेको छ ।

सर्वोत्तमको सेयर मूल्य सर्वाधिक घट्यो

बुक विल्डिङ्गबाट आईपीओ ल्याएको सर्वोत्तम सिमेन्टको मूल्य यो साता सर्वाधिक घटेको छ । निरन्तर ७ कारोबार दिन बढेपछि लगातार पाँच कारोबारदिन कम्पनीको मूल्य घटेको छ । यो साता कम्पनीको सेयरको भाउ २२.१३ प्रतिशत घटेर ८४३.१० रुपैयाँमा झर्न पुगेको छ ।

यस्तै प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको भाउ २०.१४ प्रतिशत, रिभर फल्स पावरको १७.५८, सामलिङ्ग पावरको १०.०२, थ्रीस्टार हाइड्रोपावरको ८.२७, दोर्दीखोला जलविद्युत कम्पनीको ८.०४ प्रतिशत, सोनापुर मिनरल्स एण्ड आयलको ७.७७, बोटलर्स नेपाल तराइको ७.६६, सिईडिबी हाइड्रोपावरको ७.१३ र इष्टर्न हाइड्रोपावरको सेयर मूल्य ७.१२ प्रतिशतकादरले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।