नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

0
Shares

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र ३.६ प्रतिशत दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतले हुने प्रक्षेपण गरेको भए पनि वास्तविक वृद्धिदर १.८६ प्रतिशत कायम भएको थियो।

यस वर्षको उत्साह आगामी वर्ष पनि कायम रहँदै सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हासिल हुने एडीबीको प्रक्षेपण छ । चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने उसको भनाइ छ ।

यसअघि नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। तर केन्द्रीय तथ्यांक विभागले गत साता आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो।

समग्र दक्षिण एसियामा भने ६ प्रतिशतको वृद्धि हुने एडीबीले जनाएको छ। जसमा सबैभन्दा धेरै भारतमा ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीको छ। अन्य ६ देशको सकारात्मक भएपनि अफगानिस्तानको भने शून्य हुने एडीबीले जनाएको छ।

एडीबीले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुन व्यापार सहजीकरणको प्रयास बढाउनुपर्ने सुझाव समेत दिएको छ । एशियाली विकास बैंकले यो वर्ष नेपालको मूल्यवृद्धि दर ६.५ प्रतिशत रहने आकलन गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।