वित्तीय विवरण सार्वजनिक गरेका ११ विकास बैंकको यस्तो छ प्रगति

0
Shares

शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका ११ विकास बैंकमध्ये ६ ओटाको नाफा घट्दा पाँच ओटाले भने वृद्धि गरेका छन् । एघार बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनासम्मको अवधिमा कुल ३ अर्ब ५७ करोड ११ लाख ७६ हजार खुद नाफा कमाएका हुन् ।

गत आवको यसै अवधिमा यी एघार बैंकले कुल ३ अर्ब ७० करोड ६७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३.६६ प्रतिशत (१३ करोड ५६ लाख ४ हजार रुपैयाँ) ले नाफा खस्किएको हो । राष्ट्र बैंकबाट हाल १७ ओटा विकास बैंक सञ्चालनमा रहेका छन् । सालपा बाहेक सबै १६ ओटा विकास बैंक नेप्सेमा सूचीकृत छ ।

आर्थिक सुस्ताता र कोभिड महामारीको दीर्घकालीन असर विकास बैंकहरुको खुद नाफामा देखिएको छ । साथै अर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तीय विवरण खस्कन पुगेको हो । चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको अर्जा असुली प्रभावित हुँदा बढेको प्रोभिजनका कारण मुनाफामा गिरावट आएको हो । खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च (प्रोभिजनिङ) बढ्दा विकास बैंकको मुनाफा संकुचन भई लगानीकर्ता निराश हुने अवस्था आएको हो ।

चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीना अवधिमा मुक्तिनाथ विकास बैंकको खुद नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख २४ हजार रुपैयाँ पुगेको छ । यो नाफा दुई वाणिज्य बैंकहरु नेपाल बैंक र माछापुच्छ्रे बैंकले आर्जन गरेको नाफाभन्दा बढी हो ।  यस्तै दोस्रो ठूलो नाफा गररिमा विकास बैंकले गरेको छ । गरिमाले चैत मसान्तसम्म ६८ करोड ३४ लाख६२ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आवको सोही अवधिको तुननामा ४.८५ प्रतिशतले नाफा बढेको हो ।

S.N. Sector -Development Banks Q3 2080-81 Q32079-80 Difference%
1 Muktinath Bikas Bank Ltd. 871824.77 806284.00 8.13
2 Garima Bikas Bank Limited 683462.35 651871.02 4.85
3 Shine Resunga Development Bank 514659.15 554501.41 -7.19
4 Mahalaxmi Bikas Bank Ltd. 373551.53 378949.35 -1.42
5 Lumbini Bikas Bank Ltd. 342168.10 468151.86 -26.91
6 Kamana Sewa Bikas Bank Limited 331363.23 305679.02 8.40
7 Shangrila Development Bank  269389.81 246148.81 9.44
8 Jyoti Bikas Bank Limited 152433.42 201618.53 -24.40
9 Miteri Development Bank Limited 68278.97 98060.98 -30.37
10 Green Development Bank Ltd. 18125.43 10390.97 74.43
11 Sindhu Bikash Bank Ltd -54079.92 -14875.07 263.56

नोटः विकास बैंकहरुको खुद नाफा रकमलाई हजारमा देखाइएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आवको चैतसम्ममा ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ७.१९ प्रतिशतले घटेको हो । यसैगरी महालक्ष्मी विकास बैंकको खुद नाफा पनि १.४२ प्रतिशतले घटेर ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । चैत मसान्तसम्म लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार र कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा लुम्बिनीको खुद नाफा २६.९१ प्रतिशतले घट्दा कामना सेवाले ८.४० प्रतिशतले नाफा वृद्धि गरेको छ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले २०८० चैत मसान्तसम्म २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत धेरै हो । ज्योति विकास बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा झरेको छ । यस्तै मितेरी डेभलपेन्टको नाफा पनि ३०.३७ प्रतिशतले संकुचित भएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ६ करोड ८२ लाख ७९ हजार नाफा आर्जन गरेको हो । ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा सबैभन्दा धेरै ७४.४३ प्रतिशतले बढेर १ करोड ८१ लाख २५ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा सिन्धु विकास बैंकको खुद नाफा ५ करोड ४० लाख ७९ हजार ऋणात्मक छ । गत आवको तुलनामा २६३ प्रतिशतले नोक्सानी बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।