कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए ।

कर्णाली प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले प्रदेश सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएको बताए ।

एक जना मन्त्री लिएर सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्र्दैछन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । “सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले केही छैन”, उनले भने, “बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन हुने भन्ने निर्क्योल हुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्रीको टुङ्गो लगाइने बताए । “आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ”, उनले भने, “मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार १२ : ०० बजे