सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोतका खरिदारसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलले नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको देखिएकोले भ्रष्टचार निवारण ऐन, २०५९ बमोजिम बिगो छ लाख १८ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

तत्कालीन श्री ५ को सरकारको नाममा कायम भएको सोलुखुम्बु, जुभिङ्ग गाविस वडा नं. ५ को कित्ता नम्बर ५७९, ५८१ र १५२ बाट कित्ताकाट भइ कित्ता नं. ६२०, क्षेत्रफल ३१००.०० वर्गमिटर, कित्ता नं. ६२२, क्षेत्रफल २५००.०० वर्गमिटर र कित्ता नं. ६२४, क्षेत्रफल ४७००.०० वर्गमिटर जग्गा वदनियतपूर्वक बुद्धमाया थापा मगरको जग्गाधनी दर्ता प्रमाण पूर्जामा गैरकानुनी तरिकाले थप गरी, गराइ र सोही जग्गाधनी प्रमाण पूर्जाको आधारमा जग्गाधनी दर्ता श्रेष्तासमेत कायम गरी नेपाल सरकारको जग्गा व्यक्ति विशेष बनाएको आरोप लागेको छ ।

नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलाले गैरकानुनी तरिकाले प्लटरजिष्टर कायम गरी नेपाल सरकारको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप लागेको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ बस्ने बुद्धमाया थापा मगर र निजको नाति रामकृष्ण थापा मगरले सरकारी निकायको कागजातमा गैरकानुनी तरिकाले थपघट गरी नेपाल सरकारको जग्गा आफ्नो नाममा दर्ता गरेको आरोप लागेको छ ।

यसैगरी, प्रतिवादीहरु फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वर्गिय मिङमा ल्हमू शेर्पाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम नेपाल सरकारको नाममा जग्गा फिर्ता ल्याउने प्रयोजनको लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।