पाँच सिमेन्ट उद्योगसहित २५ ठूला कम्पनीलाई कर तिर्न ठूला करदाताको १५ दिने अल्टिमेटम

0
Shares

ठूला करदाता कार्यालयले ५ सिमेन्ट उद्योगसहति २५ कम्पनीलाई आयकर र मूल्य अभिवृद्धि कर बुझाउन ताकेता गरेको छ । सोमबार सूचना जारी गर्दै ती कम्पनीहरुलाई १५ दिनभित्र कर नबुझाए कारबाही अघि बढाउने चेतावनी दिएको हो ।

ठूला कर दाता कार्यालयले एक सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता कर दाखिला गरिसकेको प्रमाण पेस हुन नआएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको, कतिपय करदातालाई फोन सम्पर्क गर्दा हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलगी पत्र कुझाउन नसकी फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कमै दाखिला भएको उल्लेख गरेको छ ।

ठूला करदाता कार्यालयका अनुसार ७ वटा कम्पनीले आयकर तिरेका छैनन् । ५ वटा कम्पनीले आयकर/मूल्य अभिवृद्धि कर दुवै तिरेका छैनन । १३ वटा कम्पनीले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

कार्यालयका अनुसार उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आयकर र मूल्यअभिवृद्धि कर दुवै तिरेको छैन। शुभश्री अग्नी सिमेन्ट उद्योग र विशाल सिमेन्ट इन्डस्ट्रीले भ्याट तिर्न बाँकी रहेको छ भने कसमस सिमेन्ट इन्डस्ट्रिज, अरनिको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज प्रा.लिले आयकर बुझाएका छैनन्।

हिमाल आइरन एन्ड स्टिल कम्पनीले आयकर र मूल्यअभिवृद्धिकर बुझाएको छैन। निर्माण कम्पनीमा जयन्ती निर्माण सेवा, सीई कन्स्ट्रक्सन प्रा.लि, सुनाम इन्फ्रास्ट्रकर निर्माण प्रालि, हाउजिङ निर्माण कम्पनी ग्रिन हिल सिटीको पनि बाँकी छ।

कर तिर्न बाँकी रहेका २५ कम्पनीमध्ये माउन्ट एभरेस्ट ब्रुअरी प्रा.लि, पेन इडिया इन्फ्रापोजेक्टस, कृषि सामग्री कम्पनी, गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी, नर्भिक इन्टरनेशनल हस्पिटल, जनक शिक्षा सामग्री, टाइगर्स ब्रुअरी, सुबिसु केबलनेट, इष्टर्न एजेन्सीज, बतास बदर्श, महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज, अयोकी सिम्बोल इरेक्टर्स नेपाल, शिव शिदर एग्रो प्रा.लि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कर तिरेका छैनन्। 

तोकिएको अवधिभित्र बक्यौता कर रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेस हुन नआएमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवम् मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुलउपर गरिने चेतावनी दिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।