सिटिजन लाइफ इन्स्योरेन्सको धितोपत्रको कारोबार फुकुवा

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्रको कारोबार फुकुवा भएको छ । नेप्सेको बैशाख २८ गते शुक्रबारको सञ्चालक समितिको निर्णयानुसार कम्पनीको रोक्का रहेको धितोपत्रको कारोबार फुकुवा गरिएको हो ।

कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेका सहायक प्रबन्धक सरिता पाण्डेयले जानकारी दिइन् ।

इन्स्योरेन्स कम्पनीले बैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेपछि स्थगन गरिएको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीले बैशाख २३ गते आइतबार चुक्ता पुँजीको २६.९८४१ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत अन्तरिम लाभांश घोषणा गरेको थियो । यस्तै नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनपछि बैशाख २५ गते रद्द गर्ने निर्णय गरेपछि नेप्सेले २५ गते मंगलबार नै कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि नेप्सेद्वारा सो कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।