नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह


नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो ।

डा डोमजाल्स्कीसँगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाईड्रोजनमा लगानीका लागि आग्रह गरेका थिए । अध्यक्ष अग्रवालले भन्नुभयो, “नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाईड्रोजनको माग पनि उच्च छ । पोल्याण्ड नेपालको पुरानो कुटनीतिक सम्वन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको जानकारी गराउँछु ।”

नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए । उनले नेपालको जलविद्युत, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानीका लागि डा सवेस्टियन समक्ष आग्रह गरे । उनले पर्यटकीय आर्कषक गन्तव्यहरु समेत धेरै भएकाले पोल्याण्का नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा सवेस्टिएन समक्ष आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवासीय कार्यवाहाक राजदूत डा. सेवेस्टियनले नेपालको चिया र कफिको बजार सम्भावना खोज्न सकिने बताएका थिए । दुई देशबीचको कुटनीतिक सम्वन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाईदा खोज्नुपर्ने उनको भनाई थियो ।

आवासीय राजदूत डा सेवस्टियनसँगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, निलकण्ठ चौलागाँई र सन्तोस पाण्डे सहभागी थिए । पोल्याण्डका लागि नेपालका कन्सोल जनरल लोकमान्य गोल्छाले नेपालको राम्रो कुटनीतिक सम्वन्ध भएको पोल्याण्डमा निर्यातको प्रचुर सम्भावना रहेको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।