एसडिएफले तरलता व्यवस्थापन नभए पछि ५० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

0
Shares

केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता खिच्न नसकेपछि निक्षेप संकलन उपकरणको पनि प्रयोग गर्दै आएको छ । बुधबार स्थायी निक्षेप संकलन मार्फत १८ अर्ब २५ करोड लिएको केन्द्रीय बैंकले बिहीबार ५० अर्बको निक्षेप संकलन गर्ने भएको हो ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग अपेक्षा गरे अनुसार हुन सकेन । साथै रेमिट्यान्स आप्रबाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढ्न मद्दत पुग्यो । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो ।

वित्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि क्रमिक रुपमा घटाउदै आएका छन् । तर पनि कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न नीतिगत कडाइ गरेकाले पनि कर्जा लगानी बढ्न नसकेको हो ।

बैंकहरुले पनि कर्जा लगानी विस्तार भन्दा पनि कोरोना तथा आर्थिक मन्दीका कारण ‘डिफल्ट’ भएको कर्जा असुलीमा केन्द्रीत हुन थाले । बढ्दो खराब कर्जाका कारण बैंकहरु असुलीमा केन्द्रीत हुँदा पनि कर्जा लगानी सुस्त हुनुमा मद्दत पुग्यो । त्यसले समेत अधिक तरलताको समस्या बढ्नमा सहयोग पुगेको हो।

बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा आइतबार र बुधबार केन्द्रीय बैंकमा सिधै निक्षेप राख्न सक्छन । यसरी राखेको निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउछन ।

बुधबार बैंक तथा वित्तीय संस्थाले १८ अर्ब २५ करोड रुपैयाँ सिधै केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । त्यसका साथै वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्ने भएकोे हो ।

केन्द्रीय बैंकले यसभन्दा अघि निक्षेप संकलन मार्फत लिएको पैसा बिहीबार परिपक्क हुदैछ । बिहीबार पुरानो निक्षेप परिपक्क हुने भएपछि त्यसलाई बजारमा फिर्ता पठाउँदा अधिक तरलताको समस्या झनै जटिल हुने भएकाले त्यसलाई केन्द्रीय बैंकले नै राख्नका लागि बिहीबार पुन निक्षेप संकलन गर्ने भएको हो ।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ । पछिल्लो समयमा अन्तर बंैक ब्याजदर २.९९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढेअनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणाली मार्फत तरलता तानिरहेको छ । केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीमा झण्डै ९३ अर्ब अधिक तरलता रहेको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा पुँजीकोष दबाबका कारण बैंकहरुले कर्जा लगानी गर्ने अवस्था छैन । त्यसले गर्दा पनि तरलता वृद्धिलाई सहयोग पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ६२ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ५४ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

साथै हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा वाणिज्य बैंकले ४५ खर्ब २५ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा तल आएको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८०.२२ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।